रास्वपाले चितवन मोबाइल क्लिनिकका रुपमा सञ्चालनमा ल्याएको एम्बुलेन्स हप्तादिन नबित्दै फिर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले चितवन मोबाइल क्लिनिकका रुपमा सञ्चालनमा ल्याएको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता गरेको छ । रास्वपाले गैरकानूनी रुपमा ना २ ख ५६१९ नम्बरको एम्बुलेन्सलाई रंग परिवर्तन गरी ‘मोबाइल क्लिनिक’का रुपमा सञ्चालन ल्याएको थियो ।

रास्वपाका सभापति रवि लामिछाने चितवन– २ बाट दोस्रो पटक विजयी भएको एकसय दिनका अवसरमा साउन १७ गतेदेखि मोबाइल क्लिनिक सञ्चालनमा ल्याइएको थियो । लामिछानेको सचिवालयले ६५ वर्षभन्दा माथिको उमेरका बिरामीका लागि भनेर मोबाइल क्लिनिक सञ्चालनमा ल्याएको थियो । तर, एम्बुलेन्सको रङ परिवर्तन गरी नीलो बनाउनुका साथै विशेष सूचना दिने सङ्केतसमेत हटाएर एम्बुलेन्सको प्रचलित मापदण्ड र ऐनका प्रावधान मिचिएपछि विवाद भएको थियो ।

विवाद भएपछि मेडिकल कलेज भरतपुरले एम्बुलेन्स फिर्ता पठाइदिन पत्र लेखेको थियो । लामिछानेको सचिवालयका सीइओ हेमन्त बरालले भने, ‘१० वर्ष पुरानो एम्बुलेन्स चलाउन नमिल्ने रैछ । एम्बुलेन्सको नाममा दर्ता भएको गाडी अर्को कुनै पनि प्रयोजनका लागि चलाउन पाउँदैन भन्ने कुरा आयो । हामीलाई सहयोग गर्ने संस्थाले फिर्ता पठाइदिन पत्र लेखेपछि हामीले फिर्ता पठाइदिएका छौं ।’

२०६९ मा भारत सरकारले पुरानो मेडिकल कलेजलाई सहयोगस्वरूप एम्बुलेन्स दिएको थियो । २०६९ असार २६ गते नारायणी यातायात कार्यालयमा ना २ च ५६१६ नम्बरमा दर्ता भएको थियो । १० वर्ष पुरानो एम्बुलेन्स नवीकरण नगर्ने व्यवस्था पनि छ। तर, लामिछानेको सचिवालयले पाँच वर्षदेखि नवीकरणसमेत नभएको एम्बुलेन्स राष्ट्रिय एम्बुलेन्स निर्देशिकाविपरीत २०८० साउन १४ गते नवीकरण गरेर गैरकानुनी रूपमा प्रयोगमा ल्याइएको थियो ।

सेतो रङको विवरणसहित दर्ता भएको एम्बुलेन्स गैरकानुनी रूपमा रङ परिवर्तन गरी प्रयोगमा ल्याइएको थियो । अहिले एम्बुलेन्सलाई पहिलाकै रंगमा बदल्न वर्कसपमा पठाइएको बरालले बताए । बरालले भने, ‘हामीले जुन रंग परिवर्तन गरेका थियौं । त्यही रंग गर्नका लागि वर्कसप पठाइदिएका छौं । त्यसपछि त्यो फिर्ता हुन्छ ।’

उनका अनुसार नयाँ एम्बुलेन्स भाडामा लिएर आजबाटै पुनः मोबाइल क्लिनिक सञ्चालनमा ल्याइएको छ । ‘आजबाट ना २ ख ५६१९ नम्बरको एम्बुलेन्स प्रयोग भएको छैन । ना ५ च १८१२ नम्बरको एम्बुलेन्स भाडामा लिएर हामीले मोबाइल क्लिनिकको सेवा आजैबाट सुरु गरिसकेका छौं,’ उनले भने ।

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् चितवन क्षेत्र नं. २ का सांसद रवि लामिछानेले महिलाहरूका लागि निःशुल्क सन्चालन गरेको बसको रंग अनुमति नलिई परिवर्तन गरेको पाइएको छ । सन् २०१४ मा बनेको ना ५ ख ३१३८ नम्बरको भाडाको बसलाई निलो रंगको बनाइएको छ । यो बसले अहिले ‘ब्लु बस’को नाममा चर्चा पाइरहेको छ ।

तर, बसको रंग परिर्वतन गर्दा अनुमति नलिइएको यातायात व्यवस्था कार्यालय भरतपुरले जनाएको छ । यातायात व्यवस्था कार्यालय वीरगञ्जमार्फत सूचना लिँदा बसको रंग परिवर्तनको अनुमति अहिलेसम्म लिएको नपाइएको भरतपुर कार्यालयका सूचना अधिकारी गोविन्द प्रसाद पौडेलले जानकारी दिए ।

सरकारले सवारीसाधनको रंग परिवर्तन गर्दा अनुमति लिएर प्राविधिकहरुलाई देखाउनुपर्ने व्यवस्था गरेको छ । सवारीको ब्लु बुकको अन्तिममा रहेको सवारी चालकले ध्यान दिनुपर्ने कुराहरुको बुँदा नं. ५ मा समेत अनुमति नलिई रंग परिवर्तन गर्न नहुने उल्लेख छ । ब्लु बुकमा नै गाडीको रंग कस्तो हो भनेर उल्लेख हुने कार्यालयका सूचना अधिकारी पौडेलले बताए ।

यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० को दफा ११.१ (४) को हेरफेर दर्ता गर्दा अवलम्बन गर्नुपर्ने प्रक्रिया सम्वन्धी व्यवस्थाको उपदफा १० मा कुनै सवारीको किसिम, इन्जिन, च्यासिस, रंग सिट, बडी निर्माण वा अन्य विवरण हेरफेर गर्न विभागबाट स्वीकृति प्राप्त वर्कसपबाट मात्र गर्ने गरी स्वीकृति लिनुपर्ने उल्लेख गरिएको छ । सोही नियमावलीमा सवारीमा कुनै हेरफेर गर्न तोकिएको ढाँचाको फर्म भरेर निवेदन दिएपछि प्राविधिकहरूले आवश्यक जाँच गरेर मात्रै अनुमति दिने भनिएको छ ।

यातायात व्यवस्था कार्यालय भरतपुरका सूचना अधिकारी पौडेलका अनुसार अहिलेसम्म रंग परिवर्तनका लागि अनुमति नलिएको हुँदा अब नियमानुसार जरिवाना तिरेर अनुमति लिने र जाँचपास गराउनुपर्ने बताए ।

मासिक १ लाख ३५ हजार भाडा तिर्ने गरी भाडामा लिइएको ‘ब्लु बस’ भिमबहादुर तामाङको नाममा छ । ३२ सिटे बस दिनहुँ शक्तिखोरदेखि भरतपुरका विभिन्न ठाउँमा घुम्ने र महिलाहरूलाई निःशुल्क यातायात यात्रा गराउने गर्दछ । बसमा यात्रुले रास्वपा सभापति रवि लामिछानेको फोटोसहितको कार्ड लिएपछि मात्रै यात्रा गर्न पाउने व्यवस्था गरिएको छ ।

पुरानो मेडिकल कलेजले दिएको एम्बुलेन्समा मोबाइल क्लिनिक

बसको जस्तै रंग परिवर्तन गरिएको मोबाइल क्लिनिक भ्यान, लामिछानेलाई भरतपुरको पुरानो मेडिकल कलेजले दिएको हो । ६५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले सञ्चालित ना २ च ५६१९ नम्बरको मोबाइल भ्यान अस्पतालको  एम्बुलेन्स हो । सो एम्बुलेन्स भारतीय दूतावासले २०७१ सालमा दिएको थियो ।

विगत ५ वर्षदेखि नवीकरणसमेत नगरेको एम्बुलेन्स साउन १४ गते यातायात कार्यालय भरतपुरमा जरिवाना तिरेर पुनः दर्ताको प्रकृयामा गएको छ । एम्बुलेन्सको पुनः दर्ता तथा जरिवाना वापत ३४ हजार २५० रुपैयाँ तिरेको सूचना अधिकारी पौडेलले जानकारी दिए । कलेजले यातायात व्यवस्था कार्यालयलाई गाडीको रंग परिवर्तनको अनुमतिका लागि पत्राचार गरेको छ ।

मोबाइल क्लिनिकका लागि चिकित्सकसहितको जनशक्ति पनि पुरानो मेडिकल कलेजले नै व्यवस्था गरिदिएको स्रोतको भनाइ छ । कलेजबाट नै जनशक्ति पठाएर अहिले टोल–टोलमा उपचार गर्न भनिएको कलेजका एक चिकित्सकले जानकारी दिए ।

सो मेडिकल कलेजका आवासीय निर्देशक डा.मनोहर प्रधान केही दिन अगाडि रास्वपामा प्रवेश गरेर सो पार्टीको बागमती प्रदेशको स्वास्थ्य संयोजक बनेका थिए ।