प्रधानमन्त्री बनेकाहरूले आफ्नो घर बनाए,समग्र नेपाल बनाउने कहिले ? मुलुक बिगार्ने जोसुकै भए पनि कारबाही हुनुपर्छ-भण्डारी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले नेपालीले नेपालभित्र नै नेपाल खोज्न नसकेको बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको प्राकृतिक स्रोत साधनको सही तरिकाले परिचालन र सही तरिकाले देशको नेतृत्व गर्न नसकिएको बताएका हुन् ।

वीर गोर्खाली भनेर संसारलाई स्वतन्त्र बनाउन हिँडेकाहरूलाई देश विकासमा लगाउन नसक्नु ठुलो कमजोरी भएको उनले बताए । नेता भण्डारीले मन्त्री, प्रधानमन्त्री बनेकाहरूले आफ्नो घर बनाए पनि समग्र नेपाल बनाउनेबारे नसोचेको बताए । नेताहरूले थोरै लोभ त्याग्ने र कर्मचारीहरूले छिटो–छिटो काम गर्दिने हो भने असन्तुष्टिहरू काम हुँदै जाने उनको दाबी छ । अहिलेको स्थितिको समाधानका लागि सबै राजनीतिक दलहरूले आफूभित्रै परिवर्तन गर्नुपर्ने उनले बताए ।

मुलुक बिगार्ने जोसुकै भए पनि कारबाही हुनुपर्ने उनले बताए । वरिपरि गरिब राखेर बिचको ठुलो घर अब धेरै दिन टिक्दैन भन्ने सन्देश दिन आवश्यक रहेको उनले बताए ।

कांग्रेसको महासमितिको बैठकमा दस्ताबेज बनाउँदा र कार्यक्रम ल्याउँदा जनतासँग जोडिएका, किसानसँग जोडिएका र राज्यका संरचनासँग जोडिएका कुराहरूलाई अगाडि बढाउने उनले बताए ।

अहिले नेपालको राजनीतिक नेतृत्व अत्यन्त कमजोर रहेको दाबी गर्दै उनले संविधान संशोधनको कुरा उठाउँदा प्राप्त उपलब्धि गुम्ने खतरा रहेको बताए । अहिले कांग्रेसमा उठिरहेको हिन्दु राष्ट्रको बहस एकआपसमा छलफल र समीक्षा हुने बताए । आफू लागेको बाटोलाई यो राम्रो नराम्रो भन्नुभन्दा पनि जनताको भावनालाई कदर गर्नुपर्ने उनको भनाइ छ । धर्मनिरपेक्षताको पक्षमा कांग्रेसले पनि हस्ताक्षर गरेको भन्दै आफू यसको विरुद्धमा नबोल्ने उनले बताए ।