घ्यू-तेल, तरकारी र मासुको मूल्य घट्यो अन्यमा मूल्यवृद्धि ५.२६ प्रतिशत

‘गत पुस महिनामा घ्यू तथा तेल, तरकारी, मासु तथामाछा र यातायात उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकांक घटेको छ,’ राष्ट्र बैंकको मासिक प्रतिवेदनमा भनिएको छ, ‘मरमसला र चिनी तथा चिनीजन्य वस्तु उप–समूहको सूचकांक समेत क्रमशः कमी आइरहेको अवस्था छ ।’

गत पुसमा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धिदर (मुद्रास्फीति) ५.२६ प्रतिशत छ । गत वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ७.२६ प्रतिशत थियो । गत मंसिरको तुलनामा भने पुसमा मूल्यवृद्धि बढी हो । गत मंसिरमा यस्तो मूल्यवृद्धिदर ४.९५ प्रतिशत रहेको थियो ।

गत पुस मसान्तसम्ममा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धिदर ५.७७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८५ प्रतिशत रहेको छ ।

वार्षिक विन्दुगत आधारमा ०८० पुस महिनामा आयात मूल्य सूचकांक, तलब तथा ज्यालादर र थोक मूल्य सूचकाङ्कको वृद्धि दरमा समेत कमी आएको छ । फलस्वरूप उक्त अवधिमा उपभोक्ता मूल्यवृद्धिमा तुलनात्मक रुपमा कम दबाब पर्न गएको दाबी राष्ट्र बैंकको छ ।

‘खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल, तरकारी र मासु तथा माछा उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक क्रमशः १३.०७ प्रतिशत, १.०४ प्रतिशत र ०.०६ प्रतिशतले घटेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘ सोही अवधिमा मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ३५.६० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ११.३८ प्रतिशत, दाल तथा गेडागुडीको ११.१४ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.२९ प्रतिशत र फलफूलको १०.१५ प्रतिशतले बढेको छ ।’

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत यातायात उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकांक १.६२ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । सोही अवधिमा मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकांक १२.८४ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको ९.७३ प्रतिशत, शिक्षाको ८.९२ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरूको ५.१८ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ४.९६ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।