लकडाउनले पशुपतिका चौपाया भोकभोकै

पशुपतिनाथ मन्दिर परिसरको नन्दी सेवास्थलस्थित गोठको डिलमा गाईबाछा अधिकारकर्मी आरबी न्यौपाने रोटीको प्याकेट खोल्दै मात्रै के थिए, छरिएर बसेका गाई एकै ठाउँमा झुरुप्प जम्मा भए । कराउँदै न्यौपानेसँग प्याकेटभित्रको खानेकुरा माग्न थाले ।

तयारी रोटी हातमा बोकेर न्यौपाने गाईको बथाननजिक पुगेका मात्रै के थिए, क्षणभरमै रोटी सकियो । त्यसपछि उनी पुनः स्टोरभित्र छिरे । भए जति रोटीका सबै प्याकेट निकाले । खोलेर धमाधम बाँड्न थाले । फेरि पनि रोटी सिद्धियो । हातमा लागेको रोटीको धुलो टकटक्याउँदै न्यौपानेले गाईतिर हेरेर भने, ‘आजका लागि तिमीहरूलाई यति हो है ।’ कुरा बुझेझैँ गरी जम्मा भएका गाई एकएक गरी पुरानै अवस्थामा फर्किए ।

लकडाउन भएयता गोठमा रहेका गाईका निम्ति घाँस भनौँ या भुसा करिबकरिब यति नै हो । त्यो पनि ठाउँठाउँ राखिएका चेकिङ छल्दै दाताले यस्ता खाना गोठसम्म ल्याए मात्रै उनीहरूले खान पाउँछन् । नत्र भोकभोकै रहनुपर्ने अवस्था सिर्जना भएको छ, गोठमा राखिएका गाईलाई । भोकभोकै पर्ने अवस्था आएपछि गोठमा राखिएका कतिपय साँढे तथा गाईबाछा पशुपतिनाथ मन्दिर आसपासकै जंगलमा लगेर छाडिएका छन् । हरियो देखेर श्लेषमान्तक जंगलसँगै जोडिएको गल्फ मैदानमा छिर्दा कतिपय गाईबाछा तथा साँढेले मरणासन्न हुने गरी कुटाइसमेत खाएका छन् ।

मठमन्दिर, गाईबाछा बचाउ तथा समाज विकास अभियानका अभियन्ता न्यौपाने भन्छन्, ‘लकडाउनले कसैलाई प्रभाव पारेको छ भने त्यो यहाँका गाईबाछा नै हुन् । यिनीहरूले न घाँस खान पाए, न भुसा नै । दाना परै जाओस् । कमसेकम अरूले खान त पाएका छन् ।’ – नयाँ पत्रिकाबाट ।