जसपा फुट : नयाँ पार्टी गठन गर्नुको कारण यस्तो {भिडियो }

जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवमा स्वेच्छाचारिता हाबी भएकाले नयाँ पार्टी गठन गर्नुपरेको बताउनुभयो।

महाधिवेशन नै कब्जा गरेर अनियमित ढङ्गले आफ्नो मुठीभित्र पार्टी राख्ने गतिविधि उपेन्द्र यादवमा देखिएकाले नयाँ पार्टी गठन गर्नुपर्ने स्थिति आएको दाबी गर्नुभयो।

बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारको अङ्कगणित मिलिरहेको भए पनि सरकारलाई अस्थिरतातर्फ लैजाने प्रयास पार्टीमा ‘अण्डरकरेन्ट’ चलिरहेको आफूले जानकारी पाएकाले सरकार स्थिर बनाउनुपर्नेमा आफूहरू एक ठाउँमा उभिएको बताउनुभयो।

अध्यक्ष राईले आफ्नो पार्टी अनियमित, गैरसंवैधानिक र गैरकानुनी ढङ्गले दर्ता नभएको भन्दै अदालत जाने बाटो सबैलाई खुला रहेको बताउनुभयो। उहाँले संवैधानिक अङ्गले वकिलहरूको जवाफ बहससमेत गराएर सहमति र स्वीकृति दिने काम गरेको भन्दै संविधानसम्मत दल दर्ता भएको बताउनुभयो। उहाँले कसैसँग पनि लेनदेनका आधारमा पार्टी विभाजन नगरेको बताउनुभयो। विभाजनको कारण सैद्धान्तिक, राजनीतिक, शैलीगत, नीतिगत कुरामा मतभिन्नता रहेको बताउनुभयो।