गौरिकाले फेरि जितिन् स्वर्ण, उनको स्वर्ण संख्या ४ पुग्यो

गौरिका सिंहले दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई चौथो स्वर्ण दिलाएकी छिन्। उनले सोमबार सय मिटर फ्रिस्टायलमा स्वर्ण सुनिश्चित गरिन्।

यो सँगै उनले सागमा सर्वाधिक स्वर्ण जित्ने तेक्वान्दो खेलाडी दीपक विष्टसँगको रेकर्ड बराबरी गरेकी छिन्। विष्टले ४ स्वर्ण जित्दै सागमा सर्वाधिक स्वर्ण जित्ने नेपाली खेलाडीको कीर्तिमान राखेका थिए।

गौरिका सिंह एकै साग संस्करणमा चार स्वर्ण जित्ने पहिलो खेलाडी समेत बनेकी छिन्। आइतबार ४ सय मिटर फ्रिस्टायलमा स्वर्ण जित्दै उनले एकै संस्करणमा तीन स्वर्ण जित्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाइसकेकी थिइन्।

यसअघि उनले २ सय मिटर फ्रिस्टायल र २ सय मिटर ब्याकस्टोकमा पनि स्वर्ण जितेकी थिइन्। सन् २०१६ मा भारतमा भएको सागमा उनले ४ पदक जितेकी थिइन्। जसमा १ रजत र ३ कास्य समावेश थिए।