नेपाल एकदिवसीय विश्वकप छनोटमा, प्रधानमन्त्री प्रचण्डले खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने घोषणा

नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा बिहीबार यूएईमाथि  जित रच्दै सन् २०२३ को एकदिवसीय विश्वकप छनोटमा सिधै प्रवेश पाएको छ । यूएईलाई ९ रनले हराउँदै नेपालले  एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको हो।

ग्लोबल छनोट जुन–जुलाईमा जिम्बावेमा हुँदै छ । जहाँ १० टिम प्रतिस्पर्धामा हुनेछन् । १० टिमले दुई समूह रहेर प्रतिस्पर्धा गर्नेछन् । दुवै समूहका शीर्ष ३–३ टिम सुपर लिगमा पुग्नेछन् । सुपर लिगको खेलपछि शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् । छनोट खेल्ने नेपालसहित नेदरल्यान्ड्स, जिम्बावे, ओमान र स्कटल्यान्डले स्थान पक्का गरिसकेका छन् । अन्य टिम छनोट हुन बाँकी छ ।

नेपालको जित केही हदसम्म विवादास्पद पनि रह्यो । तर, नेपाल जितका लागि पूर्णतः हकदार बन्यो । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा खराब प्रकाशका कारण खेल रोकिँदा नेपाल डकवर्थ लुइस नियमअनुसार ९ रनले विजयी रहेको हो । योसँगै नेपाल  जिम्बावेमा हुने एकदिवसीय विश्वकप ग्लोबल छनोटमा खेल्न पाउने भएको छ ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले पूरा ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन बनाएसँगै खेल रोकियो र डकवर्थ लुईसका आधारमा नेपाल ९ रनले विजयी घोषणा गरिएको हो ।

आईसीसी क्रिकेट विश्वकप लिग टूमा तेश्रो हुँदै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल नेपाल राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान गरेका छन् । शुक्रबार बिहान वालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपाली टिमका सबै सदस्यलाई सम्मान गरेका हुन् ।

खेलाडीलाई जनही ३ लाख दिने घोषणा

प्रधानमन्त्री प्रचण्डले खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने घोषणा पनि गरेका छन् ।प्रधानमन्त्रीले भने, ‘यसअघि पनि सरकारले तपाईँहरूलाई जनही दुई लाख राशीले पुरस्कृत गरिसकिएको छ। आज म तपाईँहरूलाई जनही तीन लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा गर्दछु ।’