उक्त अन्तरिक्षयान सन् १९७७ देखि अन्तरिक्ष अन्वेषणमा संलग्छ छ। पृथ्वीबाट पठाइएको गलत निर्देशनका कारण उक्त यानले आफ्नो एन्टेना पृथ्वीबाट ०.२ डिग्रीमा ढल्काएको थियो।
फलतः उक्त यानको निर्देशन पालना गर्ने वा पृथ्वीमा डेटा पठाउने क्षमता अवरुद्ध भयो।
तर मङ्गलवार आकाश नियमित रूपमा स्क्यान गर्ने क्रममा उक्त यानबाट उत्पन्न सङ्केतहरू भेटिएको नासाले बताएको छ।
अहिले कहाँ छ भोइजर टू?
भोइजर टू पृथ्वीबाट १९.९ अर्ब किलोमिटरभन्दा पर छ।
त्यहाँ उक्त उक्त यान ताराहरूको बीचको भागमा ५५,३४६ किलोमिटर प्रतिघण्टाको गतिमा अगाडि बढिरहेको छ।
गत जुलाई २१ यता उक्त यानले ‘कमान्ड’ लिन वा नासाको ‘डीप स्पेस नेटवर्क’लाई डेटा पठाउन सकिरहेको थिएन।
नासाको उक्त सञ्जालअन्तर्गत संसारभरि ठूला रेडिओ एन्टेनाहरू जडान गरिएको छ। तर भोइजर टूले पृथ्वीमा रहेका कन्ट्रोलरहरूले पठाएको निर्देशन लिइरहेको छैन।
अक्टोबर-१५-को-पर्खाइ-किन” class=”bbc-8gixqw eglt09e0″ tabindex=”-1″>अक्टोबर १५ को पर्खाइ किन?
सीमित सम्पर्क पुनर्स्थापित भएसँगै अब यसबाट सूचना आदानप्रदान हुने आशा वैज्ञानिकहरूले गरेका छन्।
नासाले भोइजर टूले अहिले पनि “राम्रो अवस्थामा” सङ्केतहरू प्रसारण गरिरहेको जनाएको छ।
यसअघि सोमवार अस्ट्रेलियाको राजधानी क्यान्बरामा रहेको नासाको एउटा विशाल डिशले विगत ४६ वर्षदेखि काम गरिरहेको भोइजर टूबाट उत्पन्न सङ्केत खोज्ने प्रयास गरेको थियो।
सम्पर्क पुनर्स्थापित गर्ने प्रयासमा उक्त एन्टेनाले भोइजर टू भएको क्षेत्रतर्फ व्यापक रूपमा सही निर्देशनहरू पठाएको उक्त मिशनको व्यवस्थापन गरिरहेको नासाको जेट प्रोपल्शन ल्याबोरटरीले जनाएको थियो।
अर्बौँ किलोमिटर पर रहेको उक्त यानबाट पृथ्वीसम्म सङ्केत आइपुग्न १८ घण्टाभन्दा लामो समय लाग्छ।
पूर्ण सम्पर्क स्थापित गर्न नसकिएको अवस्थामा आफ्ना एन्टेना पृथ्वीतर्फ सोझ्याउनका लागि भोइजर टू वर्षमा कैयौँ पटक रिसेट हुनेगरी प्रोग्र्यामिङ गरिएको छ।
अर्को रिसेटको समय अब अक्टोबर १५ मा तय गरिएको छ। त्यतिखेर “पूर्णसम्पर्क पुनर्स्थापित गर्न सकिने” नासाले जनाएको छ।
के हो यसको विशेषता?
यसबीचमा वैज्ञानिक उपकरणहरू जडित उक्त अन्तरिक्षयान ब्रह्माण्डमा योजनाबद्ध मार्गमा रहने नासाको अपेक्षा छ।
भोइजर टू र सँगसँगै बनेको भोइजर वनले मात्र अहिलेसम्म ‘हेलिओस्फिअर’ र समग्र सौर्यमण्डलबाहिर रहेर काम गर्न सकेका छन्। सूर्यबाट उत्पन्न कणहरूको सुरक्षात्मक घेरा र चुम्बकीय क्षेत्रलाई हेलिओस्फिअर भनिन्छ।
ती दुई यान ‘इन्टर्स्टेलर स्पेस’ अर्थात् ताराहरूबीचको अन्तरिक्षमा क्रमशः सन् २०१८ र २०१२ मा पुगेका थिए।
ती यानलाई सौर्यमण्डलका “बाह्य ग्रहहरू”को दुर्लभ एकत्रीकरणबाट लाभ हुनेगरी बृहस्पति र शनि ग्रहको अन्वेषण गर्न बनाइएको थियो। त्यस्तो अवस्थिति १७६ वर्षमा हुने गर्छ।
भोइजर टू वरुण र अरुणको अगाडिबाट यात्रा गर्ने एक मात्र अन्तरिक्षयान हो।
अहिले पृथ्वीबाट २४ अर्ब किलोमिटरभन्दा पर अवस्थित भोइजर वन सबैभन्दा टाढा पुगेको अन्तरिक्षयान हो।
ती प्रत्येक यानमा पृथ्वीका कुरा “बाह्य संसार” लाई थाहा दिन सकिनेगरी पृथ्वीका ध्वनि, तस्बिर र सन्देशहरू भएको एउटा ‘गोल्डन रेकर्ड’ राखिएको छ।
बीबीसी न्यूज नेपाली बाट साभार