सरकारले साधारण जनतालाई मान्छे गन्दैन भनेर छर्लङ्ग भयो : निर्देशक निश्चल बस्नेत

विश्वभर फैलिएको कोरोना महामारी नेपालमा पनि व्यापक रुपमा बढिरहेको बेला कोरोना उपचार सम्बन्धि सरकारको निर्णय प्रति निर्देशक तथा कलाकार निश्चल बस्नेतले चर्को विरोध जनाएका छन्।

सरकारले कोरोनाको उपचार अब जनता आफैले गर्नुपर्ने भनेपछि यसले सामाजिक संजालमा चर्को आलोचना भोगिरहेको छ । चलचित्रकर्मीहरुले पनि सरकारको यो कदमको विरोध गरिरहेका छन् ।

निर्देशक तथा कलाकार निश्चल बस्नेतले सरकारले साधारण जनतालाई मान्छे गन्दैन भन्ने पुष्टी भएको उल्लेख गरेका छन् ।

उनी लेख्छन्–‘आफ्नो उपचार गर्न राज्यकोषबाट जति खर्च गरेपनि हुने । जनताको उपचार आफै गर भन्न सक्ने गैरजिम्मेवार सरकारले साधारण जनतालाई मान्छे गन्दैन भनेर फेरि छर्लङ्ग भयो । महामारीमा पनि जनताको सेवक हुन नसक्ने सरकारले आफ्नो पतनको बाटो आफै रोजिसकेछ । राम्रो रोज्ने मौका त हामीले गुमायौं, अब ढिला नगरी कुहिएकालाई चै फ्याल्नुपर्ने देखियो ।’

निश्चल जस्तै अन्य केही चलचित्रकर्मीहरुले महामारीको बेलामा पनि सरकारले जनतालाई आफू भएको आभाष दिलाउन नसकेको भन्दै आलोचना गरेका छन् ।