‘मैले कालो चिया बनाउन सिकेको हो, बम होइन’ : रीमा विश्वकर्मा

लकडाउनको समय सदुपयोग गर्दै विभिन्न सेलिब्रेटीहरुले नजानेका खानेकुराका परिकार पकाउन सिक्दा अभिनेत्री रीमा विश्वकर्माले भने कालो चिया उमाल्न जानेकी छन् ।

केही दिनअघि फेसबुक लाइभमा उनले आफ्ना प्रशंसकको एक जिज्ञासामा आफूले बल्ल कालो चिया पकाउन सिकेकोमा खुसी व्यक्त गरेकी थिइन् । जसकारण अहिले उनी ट्रोलको शिकार बनेकी छन् ।
rima biswokarma
काम व्यस्तताले भान्सा छिर्ने समय नहुने बताउँदै उनले भनेकी थिइन्, ‘लकडाउनको समयमा कालो चिया बनाउन सिकेँ । मसँग भान्साको काम गर्ने समय हुँदैन । मेरो कामको प्रकृति नै फरक छ । अब बल्ल पकाउन सिक्दैछु ।’ उनको यो कुरालाई लिएर अहिले सामाजिक सञ्जालमा विभिन्न खाले टिका टिप्पणी भइरहेका छन् । कतिले उनलाई सहरिया हुनुको परिणाम भनेका छन् ।

कालो चिया बनाउन सिकेको कुरालाई सामाजिक सञ्जाल प्रयोगकर्ताले मजाकको विषय बनाएपछि अभिनेत्री विश्वकर्माले शनिवार फेसबुकमा ‘मैले कालो चिया बनाउन सिकेको हो, कालो बम होइन’ भन्दै आक्रोशपूर्ण स्टाटस लेखेकी छन् । उनले कालो चिया बनाउन आएको कुरालाई बम नबनाउन पनि आग्रह गरेकी छन् । उनको यो कुरामा विभिन्न अभिनेत्रीहरुले समर्थन जनाएका छन् ।

उनको स्टाटसमा केकी अधिकारीले ‘नाइस’ भनेर कमेन्ट गरेकी छन् भने ऋचा शर्माले ‘सिक्नु नै ठूलो कुरा हो’ भन्दै रीमालाई हौसला दिएकी छन् । त्यस्तै, सञ्चिता लुईटेलले भान्साको कुरा सिक्नु ठूलो कुरा रहेको बताएकी छन् । ‘छ माया छपक्कै’ निर्देशक दीपेन्द्र लामाले भने ‘उहिलेको जमाना भएको भए कालो चिया बनाउन नसक्नेको बिहे नै हुँदैनथ्यो’ भन्दै व्यंग्य गरेका छन् ।