अमेरिकामा जातीय दमनविरुद्धको प्रदर्शन हिंसात्मक बन्दै

वासिंटन – मे २५ मा अफ्रिकन अमेरिकी नागरिक जर्ज फ्लोइडको हिरासतमै हत्या भयो ।

मिनेपोलिसका तीन प्रहरी अधिकृतले जर्जको हात पछाडि बाँधेर भुइँमा लडाउँदै घाँटी थिचेर उनको हत्या भएको थियो । गोरो जातिका डेरेक चौभिन नामका प्रहरी अधिकृतले ८ मिनेटभन्दा धेरै बेरसम्म घाँटी थिचेर उनको हत्या गरेका थिए । अरु दुई अधिकृत ताउ थाओ र जे अलेक्जेन्डर क्युङ पनि जर्जको हत्यामा संलग्न थिए । प्रहरीको गाडीछेउमै भुइँमा टाउको थिचेर जर्जको हत्या भएको थियो ।

उनको हत्याको ८ मिनेट ४६ सेकेन्डको लाइभ भिडिओ घटनापछि भाइरल बनेपछि अमेरिकाका विभिन्न सहरमा व्यापक प्रदर्शन हुन थालेको छ । सामाजिक सञ्जालमा भाइरल बनेको उक्त भिडिओमा जर्ज जीवन बचाउन अनुनय विनय गरिरहेको देखिन्छन् ।

उनले ‘मलाई स्वास फेर्न गाह्रो भयो’ भन्दै त्यसो नगर्न अनुरोध गरिरहेका छन् । उनले ‘मलाई मनार्नूस्’, ‘कृपया, मैले स्वास फेर्न सकिन’ भन्दै अनुरोध गरिरहेको भिडिओमा देखिन्छ ।
जर्ज हत्याकाण्डले अन्ततः अमेरिकामा जातीय दमनविरुद्धको मुद्दा समेत उठेको छ ।

जर्जको हत्यालाई लिएर अमेरिकाका विभिन्न सहरमा हिंसात्मक प्रदर्शन भएका छन् । यतिसम्म कि, कतिपय प्रहरीका गाडीमा आगजनी र आक्रमण भए । प्रहरीले भने प्रदर्शन दबाउन टियर ग्यास र रबर गोली प्रहार गरेको छ । अमेरिकाका ५० राज्यमा २ सय सहरमा प्रदर्शन भएको छ । पछिल्लो समय ह्वाइटहाउसको अगाडि तिर सुरक्षा निगरानीका लागि सेनालाई समेत खटाइएको छ ।