प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता

जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच चीनको हाङ्चौँमा औपचारिक भेटवार्ता भएको छ।

चच्याङ प्रान्तको हाङचौँमा १९औं एसियाली खेलकुदको उद्घाटन समारोहअघि शनिबार ‌प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधि मण्डल र चिनियाँ राष्ट्रपति सी नेतृत्वको टोलीबीच औपचारिक भेटवार्ता भएको हो।

prachanda xi meeting (4)

प्रधानमन्त्री प्रचण्ड चीनको राजकीय भ्रमणका लागि शनिबार बिहान चीन आइपुगेका हुन् । संयुक्त राष्ट्रसंघको  ७८औँ महासभालाई सम्बोधन गरेर उनी न्यूयोर्कबाट सिधै त्यहाँ पुगेका हुन् । सो सहरमा आयोजना गरिएको १९औं एसियन गेमको समुद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने कार्यक्रम छ ।

यसअघि एसियाली खेलकुद प्रतियोगिता उद्घाटन समारोहमा सहभागी हुन चीनको चच्याङ प्रान्तको हाङचौँ सहरमा पुगेका विशिष्ट अतिथिहरूलाई दिवा भोज दिएर चीनमा स्वागत गरिएको थियो । चिनियाँ राष्ट्रपति सीले आयोजना गरेको भोजमा नेपालका प्रधानमन्त्री प्रचण्ड समेत सहभागी भएका थिए ।

राष्ट्रपति सीले चीनले चीन तथा नेपालको सम्बन्धमा उच्च महत्त्व दिँदै नेपालसँग विकासको रणनीतिक सम्पर्कलाई सबल पार्दै विभिन्न व्यवहारिक सहयोग आदानप्रदान गर्ने आफूहरुको इच्छा रहेको बताएका थिए ।

यस अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेट भएको थियो ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्कमा गएका प्रधानमन्त्री प्रचण्ड र जो बाइडेनबीच भेट भएको हो । भेटमा नेपालको हितमा अमेरिकाले गर्न सक्ने सहयोगबारे कुराकानी भएको थियो ।