सामाजिक संजालमाथि कडाइ गर्दै ट्रम्प

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाको चुनाव नजिकिँदै गर्दा सामाजिक संजालमाथि कडाइ गर्न थालेका छन् ।

गत मंगलबार ट्रम्पका दुई ट्वीट गलत हुनसक्ने भन्दै ट्वीटरले ‘फ्याक्ट चेक’ का लागि सिफारिस गरेपछि ट्रम्प थप आक्रोशित देखिएका हुन् । ट्रम्पले ट्वीटर लगायत सामाजिक सञ्जाललाई धम्की नै दिएका थिए । उनले सोसल मिडियाले मान्छेको बिचार सीमित गरेको भन्दै नियन्त्रण गर्ने वा बन्द नै गरिदिने धम्की दिएका थिए ।

‘कन्जरभेटिभ भ्वाइस’लाई पूर्ण रुपमा दबाउन सोसल मिडिया लागिपरेको ट्रम्पको आरोप थियो । यसअघि २०१६ मा पनि सोसल मिडियाले यस्तै गरेको तर असफल भएको ट्रम्पको आरोप छ ।
ट्वीटरलाई आरोप लगाउँदै ट्रम्पले फेरि ट्वीट गरेका हुन् । ह्वाइट हाउसका उच्च अधिकारीहरुका अनुसार सोसल मिडियालाई कडाइ गर्ने गरी आउँदै गरेको कार्यकारी आदेशमा राष्ट्रपति ट्रम्पले छिट्टै हस्ताक्षर गर्नेछन् ।

र यो आदेश कानुनी विधि भन्दा छिटो र प्रभावकारी हुने उनीहरुको बुझाइ छ । सोसल मिडियामाथि कडाइ गर्न यदी कानुनी प्रक्रिया अनुसार अघि बढ्ने हो भने यस वर्षको अन्त्यसम्म लाग्ने भएकाले ट्रम्पले छोटो बाटो हुँदै कार्यकारी आदेशबाट सोसल मिडियाको दायरालाई संकुचन गर्न खोजेको बताइन्छ ।

फेसबुकका सञ्चालक मार्क जुकरबर्गले पनि सोसल मिडियालाई ‘सेन्सर’ गर्ने बारे सोच्न नसकिने प्रतिक्रिया दिएका छन् । तर जुकरबर्गले सरकार समग्र सोसल मिडिया भन्दा पनि ट्वीटरमाथि मात्रै लक्षित भएको हुनसक्ने संकेत गर्छन् ।

पछिल्लो समय ट्वीटरले संकास्पद र झुटो सन्देशहरुमाथि नियन्त्रण गर्न थालेको छ । यसबीचमा ट्वीटरले थुप्रै गलत सन्देशलाई ब्लक गर्ने वा हटाउने समेत गरेको छ । ट्वीटरले आफू प्रयोगकर्ताहरुप्रति उत्तरदायी रहने प्रतिवद्धता दिँदैआएको छ ।

सिएनएन लगायत अन्तर्राष्ट्रिय मिडियाले भने अमेरिकी राष्ट्रपति ट्रम्पले झुटो सन्देश प्रवाह गरेको भन्दै तथ्यांक नै सार्वजनिक गरेका थिए । उनले चुनाव, कोरोनाभाइरस लगायत विषयमा झुटो सन्देश फैलाएको प्रमाण अन्तर्राष्ट्रिय मिडियाले सार्वजनिक गरिदिएका थिए ।