चीनियाँ पत्रिका लेख्छ : भारतीयहरू अमेरिकाको साथ पाएर उफ्रिरहेको छन्

चीनियाँ सेना अहिले भारतीय सीमा नजिक लद्दाखको गालवान उपत्यकामा टेन्ट गाडेर बसेको छ र पांगोङ त्सो तालमा गश्ती बढाउन थालेको छ । यसले गर्दा सीमामा तनावको स्थिति छ र तनावका लागि भारत नै जिम्मेवार रहेको चीनको भनाइ छ ।

चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सका अनुसार, गालवान उपत्यका चीनको क्षेत्र हो र भारतले जानीजानी त्यहाँ विवाद उत्पन्न गरिरहेको हो । भारतले चिनियाँ क्षेत्रमा अवैध तरिकाले सैन्य संरचना बनाइरहेको उक्त पत्रिकामा छापिएको लेखमा लोङ सिनचुनले आरोप लगाएका छन् । चीनको सेनाले त्यसको कडा जवाफ दिनुको विकल्प नरहेको अनि भारतको हित पछि हट्नसुमा नै रहेको लोङको तर्क छ ।

पत्रिकाले अमेरिकासँग चीनको सम्बन्ध राम्रो नभइरहेको बेला भए पनि आफ्नो अन्तर्राष्ट्रिय स्थिति सन् १९६२ भन्दा राम्रो रहेको र त्यतिखेर नै भारतले चीनसँग बेइज्जतीपूर्ण हार खेपेको भनी लेखेको छ । त्यतिखेर चीन र भारत दुवैको राष्ट्रिय शक्ति उस्ताउस्तै रहेको तर अहिले चीन भारतभन्दा पाँच गुणा बढी शक्तिशाली रहेको लेखिएको छ ।

चीनको अर्थतन्त्र सुस्त भएको बेलामा अनि कोरोनाका कारण केही पश्चिमी देशहरूले चीनलाई घेर्नका लागि भारतलाई भड्काइरहेको हुनसक्ने र भारतीयहरू अमेरिकाको साथ पाएर उफ्रिरहेको लोङको तर्क छ । तर यो भारतको भ्रम भएको र यसले भारतलाई नै हानि गर्ने उनले लेखेका छन् ।