नेपालले जारी गरेको नयाँ नक्सा भारतद्वारा अस्विकार

काठमाडौं – भारतले नेपालको नयाँ राजनीतिक नक्सा स्वीकार्य नहुने बताएको छ ।

नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर जारी गरेको नयाँ नक्सा आफूलाई अमान्य भएको समेत भारतले बताएको छ ।

भारतीय विदेश मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै नेपालले जारी गरेको नक्सामा आफ्नो भूभाग परेको दाबी गरेको छ । उसले भनेको छ, ‘एकपक्षीय रुपमा गरेको यो कार्य ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन । यो सीमा विवाद द्वीपक्षीय कूटनीतिक सम्वादमार्फत समाधान गर्ने समझदारी विपरित छ ।’

विज्ञप्तीमार्फत भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपाललाई यस्तो अनुचित दाबी नगर्न र भारतको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न आग्रह गरेका छन् ।

विज्ञप्तीमा नेपाली नेतृत्वले कूटनीतिक सम्वादमार्फत सीमा विवाद समाधान गर्ने वातावरण बनाउने विश्वास पनि व्यक्त गरिएको छ ।