कोरोना विरुद्धको लडाइँमा नेपालकी रुना झा विश्वका शीर्ष ५ महिलाभित्र

कोरोना विरुद्धको लडाइँमा नेपाली डाक्टर रुना झा विश्वका शीर्ष ५ महिला भित्र परेकी छिन् ।

कोभिड-१९ नियन्त्रणका लागि फ्रन्ट लाइनमा रहेर उत्कृष्ट काम गर्ने पाँच महिलाको सूची संयुक्त राष्ट्रसंघको यूएन वुमेनले सार्वजनिक गरेको छ, जसमा एक रुना झा पनि परेकी छिन् ।

डा. झा नेपालमा कोरोनाको परीक्षणको आधिकारिक मानिने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकी निर्देशक हुन् । डा. झाको अगुवाइमा ७० जना स्वास्थ्यकर्मी कोरोना परीक्षणमा खटिएका छन् । प्रयोगशालाको नेतृत्व गरिरहेका कारण छनोटमा परेको डा. झाले बताइन् ।

प्रादेशिक प्रयोगशाला जनकपुरमा पोर्टेबल पीसीआर मशिन जडान गर्न जनकपुरधाम आएकी झाले विश्वका महिलाको सूचीमा छनोट हुनु व्यक्तिगत मात्रै नभएर सिंगो देश तथा प्रयोगशालाका सम्पूर्ण टीमको नै उपलब्धि भएको बताइन् ।

‘जनकपुरमा भएकाले सामाजिक सञ्जालबाट ढिलो गरी सूचना पाएकी छु,’ झाले भनिन्, ‘यस्तो विषम परिस्थितिमा प्रयोगशालको नेतृत्व गर्ने जिम्मेवारी दिएर नेपाल सरकारले मलाई ठूलो सौभाग्य प्रदान गरेकाले यसको श्रेय पनि नेपाल सरकारलाई दिन चाहन्छु ।’

डा. झाले जतिबेला यूएनलाई अन्तर्वार्ता दिएकी थिइन्, त्यतिबेला काठमाडौंको प्रयोगशालामा दैनिक ७० वटा नमूना परीक्षण हुने गर्थ्यो तर हाल प्रत्येक दिन औसतमा ४०० नमूनाको परीक्षण भइरहेको उनले बताइन् । ‘२६ जनवरीबाट कोरोना परीक्षण शुरू गरिएको प्रयोगशालामा शुरूका दिनमा एकदमै कम संख्यामा स्वाबको परीक्षण हुने गर्थ्यो,’ झाले भनिन्, ‘तर बिस्तारै पोजेटिभ संक्रमण बढेसँगै परीक्षणको दायरा समेत बढ्दै गएको छ ।’

हाल प्रतिदिन १ हजारसम्म स्वाबको परीक्षण गर्न सक्ने क्षमता प्रयोगशालामा भइसकेको छ ।