अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो

अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार गएको २४ घन्टामा तीन हजार तीन सय ३२ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म देशभर आठ लाख ७० हजार मानिस संक्रमित भएको पुष्टि भएको छ । अमेरिकाको सबैभन्दा बढी प्रभावित राज्य न्युयोर्कमा दुई लाख ६३ हजार मानिस संक्रमित भएका छन्, त्यहाँ झन्डै १६ हजारको मृत्यु भएको छ ।

ह्वाइटहाउसको टास्क फोर्सले अन्य युरोपेली मुलुकको तुलनामा अमेरिकामा मृत्युदर कम रहेको बताएको छ ।

ह्वाइटहाउसको कोभिड– १९ टास्क फोर्सका विशेषज्ञ डा. डेबोरो बिक्र्सले अमेरिकामा सबैभन्दा कम मृत्युदर रहेको बताएकी छिन् । त्यहाँ १.४ प्रतिशत मृत्युदर भएको छ, जुन इटाली, फ्रान्स, स्पेन, बेल्जियमको भन्दा कम भएको बताइएको छ । र पनि अमेरिकामा हालसम्म भाइरसबाट मृत्यु हुने र संक्रमित हुनेको संख्या सबैभन्दा उच्च छ ।

विश्वभर हालसम्म एक लाख ९३ हजार मानिसको मृत्यु भएको छ भने साढे २७ लाखभन्दा बढी संक्रमित भएका छन् । भाइरसबाट संक्रमितमध्ये सात लाख ५० हजार मानिस उपचारपछि निको भएका छन् ।