उदयपुरमा थप ८ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४० पुग्यो

काठमाडौं – उदयपुरमा थप ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोना संक्रमितसँग सम्पर्कमा आएका ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । मंगलबार धरानमा गरिएको पुनः परीक्षणमा ८ जनामा कोरोना देखिएको हो। सोमबार विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ८ जनामा पोजेटिभ देखिएपछि थप परीक्षण गर्न धरान पठाइएको थियो।

संक्रमित आठै जना धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा छन्। संक्रमित पुष्टि भएका उनीहरुको थप विवरण आउन बाँकी छ ।

यसअघि आजै उदयपुरमा एक ३३ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रशोगशाला टेकुमा गरिएको परीक्षणमा उनीमा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४० पुगेको छ । उदयपुरमा मात्रै कोरोना संक्रमितको संख्या २२ जना पुगेको छ । नेपालमा संक्रमित ४ जना निको भएर घर फर्किएका छन्।