कोरोनाबाट चीनमा अमेरिकामा भन्दा धेरै मान्छे मरे : डोनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा भन्दा चीनमा बढी मृत्यु भएको दाबी गरेका छन् ।

चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एकैदिन १२ सय ९० थपिएपछि ट्रम्पले यस्तो दाबी गरेका हुन् ।

ट्रम्पले भनेका छन्, ‘यस अज्ञात शत्रुबाट हुने मृत्युको तथ्यांक चीनले अचानक बढाएर दोब्बर गरायो । तर मृत्युको संख्या अमेरिकाको भन्दा पनि धेरै छ ।’

चीनले वुहानमा कोरोना भाइरसबाट मृत्यु हुनेको संशोधित संख्या सार्वजनिक गरेको थियो, जसमा १ हजार २ सय ९० जना मृतक थपिएका थिए ।

सुरुदेखि नै अमेरिकाले चीन तथ्यांक लुकाउँदै आएको आरोप लगाउँदै आएको छ । चीनलाई मात्रै होइन ट्रम्पले विश्व स्वास्थ्या संगठन डब्ल्यूएचओलाई पनि चीनको तथ्यांक लुकाउन सघाएको आरोप लगाउँदै आएका छन् ।

अहिले कोरोना भाइरसका कारण सबैभन्दा बढी अमेरिकामा मृत्यु भएको छ । अहिलेसम्म कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ३७ हजार नाघेको छ भने चीनमा ४ हजार ६ सय ३२ जनाको मृत्यु भएको छ ।