कुवेतमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या १४ पुग्यो

काठमाण्डौ – कुवेतमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या १४ पुगेको छ ।

कुवेतको स्वास्थ्य मन्त्रालयले बुधबारसम्ममा सङ्क्रमित नेपालीको संख्या १४ पुगेको जानकारी दिएको कुवेतमा रहेको नेपाली दूतावासका द्वितीय सचिव कृष्ण सिलवालले जानकारी दिनुभयो ।

सङ्क्रमित सबैको स्वास्थ्य अवस्था स्थिर रहेको र कुवेतले आफ्ना नागरिकसरह नै उपचार गरिरहेको पनि सिलवालले बताउनुभयो । सङ्क्रमित नेपालीको स्वास्थ्य अवस्थाबारे कुवेतको स्वास्थ्य मन्त्रालयसँग दूतावासले नियमित जानकारी लिइरहेको पनि उहाँको भनाई छ ।

कुवेतले यसअघि नै विदेशी नागरिकलाई पनि आफ्नो नागरिकसरह उपचार गर्ने बताएको थियो । कुवेतमा अहिलेसम्म १४ सय ५ जनामा कोरोना सङ्क्रमण भएको छ । २ सय ६ जना उपचारपछि निको भएका छन्, ११ सय ९६ जनाको अस्पतालमा उपचार भइरहेको छ । तीन जनाको कोरोनाको कारण ज्यान गएको छ ।