कोरियामा रहेका नेपालीले ४ हजार कोरोना परीक्षण किट्स नेपाल पठाउने

सोल – दक्षिण कोरियामा रहेका नेपालीले ४ हजार गुणस्तरीय कोरोना परीक्षण किट्स नेपाल पठाउने भएका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कोरियाले उपलब्ध गराउने उक्त किटबाट ४ हजार जनामा कोरोना परीक्षण गर्न सकिनेछ। कोरियाली कम्पनी सिजेनसँग खरिद गरी ती सामग्री चार्टर्ड उडानमार्फत पठाउने संघको तयारी छ।

‘उक्त किट्स कोरियन एअरको सोल–काठमाडौं चार्टर्ड उडान तालिका निश्चित हुनासाथ नेपाल पठाएर सरकारलाई हस्तान्तरण गरिनेछ’, संघका कोरिया अध्यक्ष यज्ञराज सुवेदीले भने। स्थानीय सञ्चारमाध्यमका अनुसार कोरिया सरकारले आफ्ना नागरिक लिन अप्रिल १० मा कोरियन एअर काठमाडांै पठाउनेछ।

कोरियामा विभिन्न संघसंस्थासहित स्वतन्त्र अभियन्तासँगको सहकार्यमा कोरोना भाइरसविरुद्ध ‘एक व्यक्ति एक हेल्थ किट’ अभियान सञ्चालन गरिएको थियो। त्यस क्रममा संकलित रकमबाट किट्ससहित स्वास्थ्य सामग्री खरिद गरी नेपाल पठाउन लागिएको संघले जनाएको छ।

उक्त अभियानमा नेपाली रकम करिब १ करोड ४६ लाख संकलन भएको थियो। त्यो भनेको १४ करोड ८४ लाख ५८ हजार कोरियन वन हो। किट्स किनेपछि बाँकी रकमले चीनबाट अन्य आवश्यक स्वास्थ्य सामग्री खरिद गरी नेपाल पठाइनेछ। त्यसमा पीपीई गाउन २ हजार सेट, एन ९५ मास्क १० हजार, सर्जिकल मास्क २० हजार, चश्मा २ हजार, प्रोटेक्टिभ भाइजर २ हजार, पञ्जा १० हजार र आइआर थर्मोमिटर ५ सय थान छन्।

यी सामग्री चीनको ग्वान्जाओका नेपाली महावाणिज्य दूतलाई हस्तान्तरण गरिनेछ। उनले नेपाल सरकारको चार्टर्ड विमानमार्फत लैजाने जनाइएको छ। कोरिया सरकारले विदेश निर्यातका लागि लगाएको प्रतिबन्धका कारण चीनबाट किन्न लागिएको संघले जनाएको छ।