‘ब्रिटेन्स गट ट्यालेन्ट’मा भीम निरौलाको ‘सन्डे मर्निङ लभ यू’

लण्डन – ‘सन्डे मार्निङ लभ यू’ गीतबाट चर्चित भएका गायक भीम निरौलाले ‘ब्रिटेन्स गट ट्यालेन्ट’ मा आफ्नो सिग्नेचर गीत गाएर सबैलाई मनोरञ्जन प्रदान गरेका छन् ।

५४ वर्षीय भीम निरौलाले बेलायतको चर्चित टेलिभिजन शोको अडिशनका क्रममा सो गीत गाएका हुन् । भीमले गीत गाएको केही सेकेन्डभित्र निर्णायक मध्येका एक साइमन कोवेलले असन्तुष्टि व्यक्त गर्दै बजर दबाए पनि दर्शक दीर्घाले उनको प्रस्तुतीलाई हात बजाएर स्वागत गर्यो ।

त्यसपछि कार्यक्रमका उद्घोषक लगायत निर्णायक मण्डलका सदस्य गीतमा रमाउन थालेपछि निरौला सबैको नजरमा तानिए । निर्णायक अमाण्डा होल्डेनलगायतका सबैजना उनको गीतमा रमाएको र दर्शकको साथ देखेपछि निर्णायक साइमन चकित परेको देखिन्छन् ।