फिलिपिन्समा लकडाउन उल्लंघन गर्ने व्यक्तिलाई परहरीले गोली हान्यो

फिलिपिन्समा सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने एक व्यक्तिलाई प्रहरीले शनिबार गोली हानेर मारेको छ ।

ती व्यक्ति मास्क लगाउने विषयमा दक्षिणी प्रान्त अगुसन डेल नोर्तेको नासिपित सहरको चेकप्वाइन्टमा गएर त्यहाँका स्वास्थ्य अधिकारी र प्रहरीसँग झगडा गरेका थिए । मास्क नलगाई बाहिर निस्किएका ती व्यक्तिलाई स्वास्थ्यकर्मीले मास्क लगाउन आग्रह गरेपछि उनी आक्रोशित भए ।

स्वास्थ्यकर्मीको आग्रहपछि आक्रोशित भएका उनले अपशब्द बोल्दै कर्मचारीमाथि धारिलो हतियारले आक्रमण गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । कर्मचारीलाई आक्रमण गरेपछि एक प्रहरी अधिकारीले गोली चलाएका थिए । विश्वमै सम्भवतः भाइरस नियन्त्रण गर्न सरकारले लागू गरेको नियम उल्लंघन गर्ने व्यक्तिलाई गोली हानिएको यो पहिलो घटना हो ।

राष्ट्रपति रोड्रिगो दुतेर्तेले नियम उल्लंघन गर्ने जोकोहीलाई गोली हान्न सुरक्षाकर्मीलाई बुधबार आदेश दिएका थिए । उनले भनेका छन्, ‘प्रतिबन्धविना भाइरस नियन्त्रण हुँदैन, यदि तिमी यो नियम मान्दैनौँ भने अरू निर्दोष मानिसको ज्यान बचाउन म तिम्रो जीवन समाप्त गर्दिन्छु ।’

फिलिपिन्समा तीन हजार ९४ जना भाइरसबाट संक्रमित भएका छन् भने एक सय ४४ को मृत्यु भएको छ । भाइरसको संक्रमण भएकामध्ये ५७ जना निको भएका छन् ।

त्यहाँको लुजोन प्रान्त एक महिनाभन्दा अगाडिदेखि बन्द गरिएको छ भने यसबाहिरका अन्य प्रान्तहरूले भाइरसको प्रकोप फैलिन नदिन आफैँ लकडाउन गरेका छन् ।

फिलिपिन्सको एम्नेस्टी इन्टरनेसनलले दुतेर्तेले मानिसको स्वतन्त्रतामाथि आक्रमण गरेको आरोप लगाएका छन् ।