लन्डनमा नेपाली महिला कोरोना भाइरससँग लड्दै

काठमाडौं – बेलायतमा रहेकी कोरोना संक्रमित एक नेपाली महिलाले संक्रमण निकै पीडादायक रहेको र १३ दिनसम्म पनि निको हुने छाँटकाँट नदेखिएको भन्दै सावधानी अपनाउन आग्रह गरेकी छिन्‌।

लमजुङ तार्कुघाट स्थायी घर भई हाल बेलायतको लण्डनमा बस्दै आएकी भगवती रानाभाटले संक्रमण भएपछि आफू १० दिनसम्म सेल्फ आइसोलेसनमा बसेको, तर छिट्टै निको हुने सम्भावना नदेखिएको भन्दै सावधान रहन आग्रह गरेकी हुन्‌। कोभिड–१९ पोजिटिभ देखिएपछि सामाजिक अभियन्ताको कामसमेत गर्दै आएकी भगवती रानाभाट अस्पताल भर्ना भएकी हुन् । सामाजिक संजालमा आफ्नो फोटो र स्टाटस पोस्ट गर्दै उनले सबैलाई सचेत बन्न पनि आग्रह गरेकी छिन् ।

रानाभाटले लेखेकी छिन् ‘१० दिनको सेल्फ आइसोलेसनपछि कोभिड–१९ सँग लड्दै । यो महामारी कति पीडादायक हुँदो रहेछ, आज १३ दिनसम्म पनि निको हुने छाँटकाटै छैन। फेसबुकमा राख्ने सोच थिएन, कतै आफन्त अनि साथीभाईलाई थप भयावह बनाउला भन्ने लाग्यो तर सोचेँ सबैले सावधानी अपनाउन सक्नुहुने छ । हजुरहरू सबैलाई विशेष सावधान रहन अनुरोध ।’

शुक्रबारदेखि उनी लन्डनको ह्यारोस्थित नर्थविक पार्क अस्पतालको क्रिटिकल केयर युनिटमा उपचार गराइरहेकी छन् । उनलाई शुक्रबार घरैमा एम्बुलेन्स आएर अस्पताल लगेको बताइएको छ ।

पारिवारिक श्रोतका अनुसार, गत ८ तारिख दिउँसो उनी लन्डनको भेन्यू फाइभमा आयोजित अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रममा सहभागी भएकी थिइन् । त्यसको भोलिपल्ट ९ तारिख मध्यरात १२ बजेदेखि उच्च ज्वरोले सताएको थियो ।