आर्यन अधिकारी अभिनित बलिउड फिल्मको ट्रेलर सार्वजनिक ( भिडियो )

नेपाली अभिनेता आर्यन अधिकारी र अभिनेत्री नीता ढुंगानाको लिड रोल रहेको बलिउड फिल्म ‘कडके कमाल के’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । भारतको प्रतिष्ठित म्यूजिक कम्पनी जि म्यूजिक कम्पनीको युट्युब च्यानलबाट सार्वजनिक भएको ट्रेलर कमेडीले भरिएको छ । फिल्ममा भारतीय र नेपाली कलाकारहरुको अभिनय छ ।

यसमा बलिउडका चर्चित कलाकार राजपाल यादवले आर्यनको मामाको भूमिका निभाएका छन् । यो फिल्मको अधिकांश छायांकन नेपालमा भएको हो । ट्रेलरमा अभिनेता आर्यनलाई कमेडी, एक्सन र रोमान्टिक अवतारमा देख्न सकिन्छ । अभिनेत्री नीताले भने ट्रेलरमा पर्याप्त ‘स्क्रिन स्पेश’ पाएकी छैनन् । न त उनलाई कुनै संवाद नै दिइएको छ ।

ट्रेलरभरी आर्यन र राजपाल छाएका छन् । मे २४ अर्थात् नेपाली मितिअनुसार जेठ १० गतेबाट यो फिल्म प्रदर्शनमा आउँदैछ । फिल्ममा भारतकी चर्चित कलाकार ऊषा नाडकर्णीको पनि अभिनय छ । एञ्जल श्रेष्ठ, दया शंकर पाण्डे, विजय पाटकर, राना जंग बहादुरलगायतका कलाकारहरुको पनि अभिनय रहेको फिल्मलाई लक्ष्मण सिंहले निर्देशन गरेका हुन् ।

ऐतवारी सिंह निर्माता रहेको फिल्ममा मुम्बईका निर्माता आशिष राजेको फिल्ममा लगानी छ । निर्देशक सिंह र भि.के. सिंहले यसको कथा तयार पारेका हुन् । रोचक कुरा त, आफ्नो पहिलो बलिउड फिल्मको ट्रेलर रिलिज हुँदा पनि अभिनेता आर्यन र अभिनेत्री नीतामा कुनै चासो देखिएको छैन । यतिसम्मकी ट्रेलर सामाजिक सञ्जालमा समेत सेयर गरेका छैनन् ।