गोष्ठीमा सहभागी हुन अमेरिका गएकी उपमेयर उतै ‘हराइन्’

गोष्ठीमा सहभागी हुन अमेरिका गएकी कालिकोटको एक नगरपालिकाकी उपमेयर उतै ‘हराएकी’ छिन्।

अमेरिकामा आयोजित एक गोष्ठीमा नगरपालिका संघमार्फत् गएकी तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली त्यहाँ गइसकेपछि कुनै खबर नगरेको तिलागुफाका मेयर रत्न बहादुर शाहीले जानकारी दिए। उपमेयरले अमेरिका गोष्ठीमा सहभागी हुन आफ्नो नाम परेको भनेपछि नगरबाट स्वीकृति दिइएको तर गएपछि कुनै जानकारी नगराएको मेयर शाहीले बताए।

उपमेयर नेपाली गत कात्तिक महिनामा कार्यक्रममा भाग लिन अमेरिका गएकी थिइन्। उपमेयर अमेरिका पुगेपछि एक पटक मात्र टेलिफोन सम्पर्क भएको मेयर शाहीले बताए। उनका अनुसार टेलिफोनमा उपमेयरले ‘आफू बिरामी भएकाले फर्किन नसकेको’ बताएकी थिइन्।

‘उहाँ गइसकेपछि एक पटक टेलिफोनमा कुरा भएको हो, त्यसबेला बिरामी छु भन्नुभएको थियो,’ मेयर शाहीले भने, ‘त्यसपछि कुनै जानकारी छैन।’ उपमेयर नहुँदा अधिकांश योजनाका भुक्तानी दिन समस्या भएको मेयर शाहीले बताए।

२०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट उपमेयरको उम्मेदवार बनेकी नेपाली १ हजार ८४३ मत ल्याएर निर्वाचित भएकी हुन्।