अन्तत : नेपालमा ‘पब्जी’ खेल बन्द गरियो

काठमाडौँ — नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेल प्रतिबन्ध लगाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा प्राधिकरणले पब्जी खेल बन्द गर्न सबै इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको हो ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले प्रहरीको आग्रहमा बिहीबार नैइन्टरनेट प्रदायकहरुलाई पब्जी खेल डाउनलोड र खेल्ने कार्य लागि रोक्न‍का लागि पत्र पठाइएको जानकारी दिए।

पबजी आज बालबालिका तथा किशोरहरूका लागि लत बनेको छ। ‘प्लेयर अननोन ब्याटलग्राउन्ड’ अर्थात् छोटकरीमा पब्जी भनिने यो खेल अहिले संसारमा धेरै खेलिने अनलाइन खेलमध्ये एक ‘भर्चुअल’ हो। यसको क्रेज अहिले नेपालमा मात्र होइन, संसारभरि छ।

रिलिज भएको एक वर्षमै पब्जी एकदमै लोकप्रिय भयो। अहिले यो करोडौं मोबाइल प्रयोगकर्ताको प्रिय खेल बनिसकेको छ। यसको पहिलो संस्करण विन्डोजमा प्रकाशित भएको थियो। विन्डोजमा सफल हुन नसकेको गेम जब मोबाइल भर्सन त्यसमा पनि एन्ड्रोइड र आईओएस दुवै भर्सनमा सार्वजनिक भयो, त्योसँगै यसले सफलता चुम्यो। यो गेममा ‘ब्याटलग्राउन्ड’ अर्थात् रणभूमिमा सबैलाई परास्त पार्दै अन्तिमसम्म टिक्ने प्रतियोगी विजेता हुन्छ।

‘काउन्टर स्ट्राइक’ र ‘ओभरवाच’ जस्ता गेमलाई पछि पार्दै पब्जी अहिले सबैभन्दा धेरै राजस्व संकलन गर्ने गेम बनेको छ। तर, इन्टरनेटसँग जोडिएर अनलाइन खेलिने यो खेलले खेल्नेहरूको मस्तिष्कमा नकारात्मक प्रभाव परिरहेको अध्ययनले देखाएको छ। समूहमा खेलिने यो खेलको लतका कारण धेरैलाई मानसिक समस्या देखिन थालेको विश्व स्वास्थ्य संगठनले समेत जनाएको छ।

पब्जीको लतमा परेकाहरूले आफ्नो दैनिकी बिर्सिन थालेका छन्। खान खान बिर्सिने, स्कुलमा दिएको गृहकार्य बिर्सिएर एकोहोरो त्यही गेम खेलेर समय बिताउने गरेको छन्। त्यथ्यांकअनुसार यसको लत लागेको मान्छेले थोरैमा पनि पाँच घण्टा यसमा बिताउने गरेको पाइएको छ। यो गेम ब्याटल अर्थात् रणभूमि र त्यसमा हुने लडाइँसँग सम्बन्धित भएकाले पनि यसको नकारात्मक असर खेल्नेलाई परिरहेको जनाइएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार जो बालबालिका मारकाटसँग सम्बन्धित खेल खेल्छन्, उनीहरूको विचार, सोचाइ र इमोसन पनि आक्रामक हुने गरेको छ। साथै अरूलाई सहयोग गर्ने भावनामा पनि कमी आउने उल्लेख छ।