प्रदेश १ का मुख्यमन्त्री र सिक्किमका पूर्व मुख्यमन्त्रीबीच भेटवार्ता

काठमाडौँ – प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र भारत सिक्किमका पूर्व मुख्यमन्त्री पवन चाम्लिङबीच अनौपचारिक भेटवार्ता भएको छ ।

काठमाडौंमा भएको अनौपचारिक भेटवार्ता उनीहरुबीच संघीय प्रणालीको अवसर र चुनौतीलगायतका राजनीतिकका विषयमा छलफल भएको छ । भारतको लामो अभ्यासमा रहेको संघीयता र सिक्किम राज्यको पाँच कार्यकाल अर्थात २५ बर्षे लामो शासकीय अनुभवको पूर्वमन्त्री मन्त्री चाम्लिङले प्रदेश १ का मुख्यमन्त्री राईसँग जानकारी गराएका थिए ।

चाम्लिङसँगको भेटबारे जानकारी दिँदै मुख्यमन्त्री राईले फेसबुकमा लेखेका छन्, ‘छिमेकी देश भारतको सिक्किम राज्यका निर्बतमान मुख्यमन्त्री पवन चाम्लिंग संग काठमाण्डौंमा अनौपचारिक भेटवार्ता ! नेपालको दुई बर्षे संघीयताको बामे सराई र अनुभव अनि भारतको लामो अभ्यासमा रहेको संघीयता र सिक्किम राज्यको पाँच कार्यकाल अर्थात २५ बर्षे लामो शाशकीय अनुभवको साटासाट !

कही नझुकी, कही नचुकी, आत्मबिश्वासका साथ, सकारात्मक सोच राखेर, इमान र निष्ठापुर्बक, बलियो इच्छाशक्तिका साथ, सही भिजन, मिसन र प्लान सहित राष्ट्र र जनतालाई शीरमा राखेर काम गर्दा धेरै नै गर्न सकिने निष्कर्ष । धन्यबाद छ निबर्तमान मुख्यमन्त्री पवन चाम्लिंगलाई । यस अवसर र संयोग जुटाईदिने किराँत राई यायोख्खा प्रति हार्दिक आभार प्रकट गर्दछु ।