आज सागको भव्य उद्घाटन हुँदै, यस्तो छ तयारी

काठमाडौं – १३औं दक्षिण एसियाली खेलकुद (साग)को उद्घाटन सत्र भव्य हुने भएको छ।

सागको औपचारिक उद्घाटन आइतबार साँझ ५ः०० बजे राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन्। तीन घण्टा लामो उद्घाटन सत्रलाई नेपालकै गौरव गर्ने खालको भव्य र सभ्य बनाइने १३औं साग समारोह समितिका सचिव कुलबहादुर थापाले जानकारी दिए। उद्घाटनलाई लक्षित गरी हजारौं कलाकारले लामो समयदेखि तयारी गरिरहेको जानकारी पनि थापाले दिए।

‘उद्घाटन सत्रमा विशेषगरी नेपाली मौलिकता र कला प्रस्तुत गरिनेछ। हामी सागमार्फत नेपाललाई प्रकृति, कला र संस्कृतिको धनी देश भनेर चिनाउन चाहन्छौं। संघीय नेपालका सातवटै प्रदेश तथा हिमाल, पहाड र तराईको कलाले उद्घाटन समारोह मनमोहक बन्नेछ। उद्घाटनको यो अवसरलाई छुटाउनै नहुने र सबैले मन पराउने खालको बनाउने हिसाबले तयारी गरेका छौं’, थापाले भने।

उद्घाटन समारोहमा विशेषगरी नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी बल, कलाकार, विद्यार्थी र विभिन्न जातजातिका झाँकी प्रस्तुत गरिनेछ। उद्घाटनसँगै समापनको पनि उस्तै तयारी गरिएको छ। उद्घाटन र समापान दुवैमा १५ हजार जना कलाकारको प्रस्तुति रहने पनि थापाले जानकारी दिए। ‘उद्घाटनलाई सागको ऐना ठानेका छौं। ग्रान्ड रिहर्सलबाटै उद्घाटन सत्र भव्य हुने स्पष्ट भएको छ’, थापाले भने।

सागका लागि सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालको संयोजकत्वमा समारोह समिति गठन गरिएको छ। उद्घाटनमा सबैभन्दा बढी सशस्त्रका चार हजार पाँच सय कलाकारले प्रस्तुति दिनेछन्। त्यसपछि सेनाका दुई हजार पाँच सय, नेपाल प्रहरीका एक हजार, उपत्यकाका विभिन्न ३० विद्यालयका तीन हजार विद्यार्थी, विभिन्न झाँकी चार हजार र तीन सय जनाभन्दा बढी व्यावसायिक कलाकारले विशेष प्रस्तुति दिनेछन्।उद्घाटन सत्रलाई थप रोचक बनाउन सेना, प्रहरी र सशस्त्रको छुट्टाछुट्टै ब्यान्डले प्रस्तुति दिनेछन्। ब्यान्डको प्रस्तुति सागको इतिहासमै ठूलो हुने दाबी थापाले गरे। त्यसबाहेक पाँच सय कलाकारले नेपालका विभिन्न मौलिक बाजा बजाउनेछन्। १५ सय जनाको मास क्यालिसथेनिक्स प्रदर्शन पनि हुनेछ ।