राष्ट्रिय कीर्तिमान बनाएकी तुलसा साग छाडेर कतार भागिन्

चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाएकी धाविका तुलसा खत्री १३औं दक्षिण एसियाली खेलकुद (साग) छाडेर विदेशिएकी छिन्।

घरेलु मैदानमा आयोजना हुने १३औं सागको उद्घाटन हुनु ३ दिनअघि बिहीबार प्रशिक्षकलाई झुक्याएर नेपाली सेनाकी धाविका खत्री कतार गएकी हुन्।

एथ्लेटिक्सका प्रमुख प्रशिक्षक चन्द्रबहादुर गुरुङका अनुसार खत्रीले प्रशिक्षणमा ढिला आउने भनी बुधबार बेलुकी सन्देश पठाएकी थिइन्। मन्दिर जाने भन्दै सन्देश पठाएकी खत्री बिहीबार दिउँसोसम्म सम्पर्कमा नआएपछि प्रशिक्षक गुरुङले सोधपुछ थालेका थिए।

त्यसपछि उनी कतार गएको अन्य खेलाडीले जानकारी दिएको गुरुङले बताए। बिहीबार राष्ट्रिय खेलकुद परिषद्लाई मौखिक जानकारी दिएका प्रशिक्षक गुरुङले शुक्रबार भने लिखित रुपमा नै पत्राचार गरेका छन्। गुरुङका अनुसार खत्रीले आर्मी विभागलाई भने सन्देश पठाएकी थिइन्। उनले ‘खेल खेल्न चाहदा चाहदै पनि करियर बनाउनका लागि मैले झुट बोलेँ’ भनेर आर्मीलाई सन्देश पठाएको गुरुङले बताए।

१३‍औं सागको प्राविधिक समितिले पनि खत्री सम्पर्कमा नभएको पुष्टि गरेको छ। खत्रीले सागमा चार सय मिटर दौड, हडल्स र रिलेमा भाग लिने तय थियो। अब उनको सट्टामा अरुणा रिजालले खेल्ने सम्भावना छ।

यसअघि खत्रीले गत महिना चीनको उहानमा भएको सातौं विश्व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगितामा महिला चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। उनले ९ वर्ष पुरानो कीर्तिमान तोडेकी थिइन्।

उनले ५९.५७ सकेण्डमा निर्धारित पार गर्दै प्रमिला रिजालको नाममा रहेको कीर्तिमान भंग गरेकी थिइन्। प्रमिलाले सन् २०१० मा ५९.९० सेकेण्डमा दौडिदै रेकर्ड राखेकी थिइन्।