कीर्तिपुरमा युद्व स्मारक पार्क बन्दै

कीर्तिपुरमा ‘युद्व स्मारक पार्क’ का लागि मूर्ति बनाउने काम तीव्र गतिमा भइरहेको छ। २५ विभिन्न कलाकारहरू मूर्ति निर्माणमा जुटेका छन्।

कीर्तिपुरको चक्रपथ छेउमा नगरपालिकाले पार्कको नाम अनुसार युद्व र कीर्तिपुर जोडिने गरी मूर्ति बनाउने कामलाई तिब्रता दिएको हो। कलाकारहरूले चैत १४ गतेदेखि कीर्तिपुर आएर मूर्ति बनाउन थालेका हुन्।

उनीहरूलाई फिनिसिङ सहितको मूर्ति आगामी २८ गतेभित्र नगरपालिकालाई जिम्मा लगाउनुपर्ने समयसीमा छ। भाषा, संस्कृति, सम्पदा, ललितकला र पर्यटन समिति संयोजक डंगोलका अनुसार कीर्तिपुरको ५४ रोपनी जग्गालाई पार्कको रूप दिन लागिएको हो। कीर्तिपुर नगरपालिकाको वडा नं. १, २ र १० मा पर्नेगरी बालबालिकामैत्री पार्क निर्माण गर्ने योजनाका लागि काठमाडौं महानगरपालिकाले एक करोड रुपैयाँ सहयोग गरेको छ।

यसका लागि प्रदेश नं. ३ सरकारले ३५ लाख सहयोग गर्ने भएको छ। नगरपालिकाले भने तत्काल २५ लाख र आवश्यक परेमा १० प्रतिशत जति बढाउन सक्नेगरी बजेट छुट्याएको छ। कीर्तिपुर सहरको विकाससँगै नगरको सुरक्षार्थ निर्माण गरिएको गढपर्खाल पनि पार्क क्षेत्रमा समेट्ने तयारी भइरहेको छ। पार्कभित्र सत्तल र बस्ने व्यवस्था हुनेछ।

यस भित्र हुने मूर्तिहरूले कीर्तिपुरको चिनारी दिनेछन्। यहाँ विभिन्न समयमा भएका युद्धको झल्को दिने गरी मूर्ति राखिनेछन्।