पशुपतिनाथ मन्दिरमा शिवरात्रिको रौनक

पशुपतिनाथ मन्दिरमा शिवरात्रिको रौनक

भिडियो हेर्नुहोस

महाशिवरात्रिका अवसरमा आज मुलुकभरका शिवालयमा भगवान् शिवको पूजाअर्चना गरी मनाइएको छ । यसैक्रममा यहाँस्थित आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा आज राति ९ बजेसम्म पाँच लाखभन्दा बढी भक्तजनले दर्शन एवं पूजाअर्चना गरेका छन् ।

बिहान २ बजेदेखि नै पाशुपत क्षेत्रमा लागेको दर्शनार्थीको घुइँचो अहिलेसम्म पनि उस्तै रहेको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव राजुकुमार खत्रीले जानकारी दिए । उनले भने, “पशुपति क्षेत्रमा अहिले पनि दर्शनार्थीको भीड बाक्लो छ । दर्शनार्थी रातिदेखि नै लामबद्ध थिए ।”

कोषले आज बिहान २ बजेदेखि भोलि बिहान पाँच बजेसम्म २० लाख भक्तजनले आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने अनुमान गरेको छ । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा हुनसक्ने अवाञ्छित गतिविधिलाई सिसी क्यामराका तथा ड्रोनका माध्यमबाट निगरानी गरिएको छ । अवाञ्छित गतिविधिको निगरानीका लागि सुरक्षाकर्मी सहितको एक छुट्टै टोली परिचालन भएको विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

पशुपति क्षेत्रमा चार हजार ९४ सुरक्षाकर्मी तथा सोही अनुसार स्वयंसेवक परिचालन गरिएको विकास कोषले जनाएको छ । सुरक्षाकर्मी फागुन २६ गतेसम्म सुरक्षाकर्मी सुरक्षार्थ खटिने छन् ।  यसैगरी पशुपति क्षेत्रमा आपत्कालीन उद्धार टोली, दमकल र एम्बुलेन्ससमेत अहिले पनि तयारी अवस्थामा राखिएको छ । भक्तजनको सहजताका लागि एकैचोटिमा नौदेखि १० जनासम्मले दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाइएको छ । शिवरात्रिका अवसरमा भारतबाट साधुसन्त र तीर्थयात्री पशुपति आएका छन् ।

पशुपति पुग्ने भक्तजनका लागि एम्बुलेन्स सेवा, ७० वटा स्वास्थ्य शिविर, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा अधिकारी परिचालन भएका छन् । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् ।

आज भगवान् शिवको प्रिय वस्तु मानिने दूध, धतुरो र बेलपत्र चढाएर पूजा गर्ने गर्छन् । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने चलन पनि छ ।

यस वर्ष पशुपतिनामा तीन हजारभन्दा बढी साधुसन्त आएको विकास कोषको अनुमान छ । उनीहरुका लागि धुनी, भोजन र बाटो खर्चका लागि पशुपति क्षेत्र विकास कोषले हरेक वर्ष बजेट छुट्टाउँदै आएको छ ।

महाशिवरात्रि पर्वलाई व्यवस्थित बनाउन भकुण्डोलमा नेपाल प्रहरी मूल शिविर रहेको छ भने सशस्त्र प्रहरी बलको नेपाल सुरक्षा कमाण्ड पोष्ट पशुपतिक्षेत्र नासल चोकमा छ । मूल शिविरसँगै कमान्डपोष्टअन्तर्गत सवकमान्ड पोष्ट खडा गरी समग्र पशिुपति क्षेत्रको महाशिवरात्रि पर्वमेला त्रुटिरहित सुरक्षा प्रणाली अपनाइएको छ ।

पशुपतिनाथ मन्दिर नजिकै कोर क्षेत्रमा डाक्टर, नर्स, औषधि र बेडसहितिको नेपाली सेनाको मूल स्वास्थ्य शिविर छन् भने सशस्त्र प्रहरी, नेपाल प्रहरीसमेतका गरी करिब ५० वटा स्वास्थ्य शिविर रहेका पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

यस्तै जुत्ता, चप्पल व्यवस्थापन दर्शन लाइनलाई पायक बनाएर भुवनेश्वरीमा दक्षिणामूर्ति रुद्रगाडेश्वर दर्शनमार्ग, भुवनेश्वरी नजिक शंकराचार्य मठ पछाडि, बज्रघर दक्षिणतर्फ, राममन्दिर नजिक वाग्मती पारी गरी पाँच ठाउँमा व्यवस्थापन गरिएको थियो । यस्तै चन्दन वितरण दर्शन गरेर निस्किने कोर क्षेत्रभित्र, जयबागेश्वरी, ब्रजघर अगाडि दक्षिण ढोका र तिलगङ्गामा समेत राखिएको थियो । पशुपतिनाथको दर्शनका लागि यसपटक नौवटा र्याम्प (बाटो) को व्यवस्था गरिएको सदस्यसचिव खत्रीले बताए ।

उनका अनुसार उत्तरपट्टि तीनवटा, पूर्वपट्टी दुईवटा, दक्षिणपट्टी दुई तथा पश्चिमपट्टी दुईवटा र्याम्पको व्यवस्था गरिएको छ । पार्किङ तथा ट्राफिक व्यवस्थापनका लागि तिलगङ्गा करिडोरको उपलब्ध ठाउँ, पशुपति क्षेत्र विकास कोषको कार्यालय, प्रहरी वृत्त ट्राफिक प्रहरी विभाग गौशाला, सिफल चौराहको उपलब्ध ठाउँ, गुह्येश्वरी पारी गरी पाँच स्थानमा व्यवस्थापन गरिएको विकास कोषले जनाएको छ ।

विमानस्थल, गौशाला, चाबहिलको चक्रपथमा यात्रुको चापलाई ध्यानमा राखी सडकको आधा भागमा सार्वजनिक सवारी गुड्न दिने र आवश्यकताअनुसार अहिले पनि डाइभर्सनकोसमेत व्यवस्था मिलाइएको छ ।

बत्तिसपुतली, मैतीदेवी, पुरानो बानेश्वरतर्फबाट आउने दर्शनार्थीका लागि गौशाला–पिङगलास्थान गेट हुँदै वनकाली हुँदै दक्षिण ढोकाबाट प्रवेशको व्यवस्था गरिएको छ ।

यसैगरी भक्तपुर, ललितपुर, कोटेश्वर, तीनकुने, विमानस्थल, तिलगङ्गा क्षेत्रबाट दर्शनार्थीका लागि मन्दिरको पूर्वी ढोकाबाट प्रवेशको व्यवस्था गरिएको छ । साथै जोरपाटी, कपन, महाँकाल, चाबहिल, सिफलतर्फबाट आउने दर्शनार्थीका लागि मन्दिरको उत्तर ढोका तथा रातोपुल, कोलोपुल, चाबहिल, सिफलबाट आउने दर्शनार्थीका लागि मन्दिरको पश्चिमी बाहिरी सानो ढोकाबाट प्रवेश गराइने व्यवस्था मिलाइएको थियो ।

महाशिवरात्रि पर्वलाई लक्षित गरी पशुपतिनाथ मन्दिर आसपासलाई झकिझकाउ पारिएको छ । मन्दिर आसपासका क्षेत्रमा विभिन्न बत्तिले सजावट गरिएको छ । पाशुपत क्षेत्रलगायतका विभिन्न क्षेत्रमा अहिले विभिन्न प्रकारका बत्तिले सजिसजाउसहित तथा झिलिमिलि पारिएको छ । यसैगरी मन्दिर आसपासको क्षेत्रमा सरसफाइदेखि विभिन्न सजावटले सिँगारिएको छ ।

शिवरात्रिका अवसरमा यही फागुन २७ गतेसम्म गौशाला–मित्रपार्क सडकदेखि पूर्व, पशुपतिनाथ क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला–तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिणभित्रका सबै भागमा मासु र मदिरा बिक्रीमा रोक लगाएको छ ।

पर्वलाई अनुशासित, मर्यादित र व्यवस्थित बनाई भव्यरुपमा सम्पन्न गर्न र पाशुपत क्षेत्रभित्रको सुरक्षालगयात धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्न यस्तो रोक लगाइएको जनाइएको छ ।