दशरथ रङ्गशालाको नयाँ रुप, दुलही झैँ सिँगारिँदै

काठमाडौँ – १३औं दक्षिण एसियाली खेलकुदका लागि दशरथ रंगशाला अहिले सिंगारिने काम जोडतोडले चलिरहेको छ ।

साग खेलकुदको मुख्य आकर्षणको केन्द्र दशरथ रंगशाला अहिले दुलही झै सिंगारिने काम भएको छ । अघिल्ला दिन धुरोमैलो देखिने सडक र भित्ता रातारात पिच सहित रंगरोगन गरी चिटिक्क पारिएको छ । साधारण प्यारापिटमा बत्ती राखेर झिलिमिली पारिएको छ । कतिपय संरचना धमाधम निर्माण भईरहेका छन् । साधारण प्यारापिटमा छानो सहित निर्माण सकेर कुर्सी विछ्याईएको छ । दशरथ रंगशालाको मैदान, सिन्थेटिक ट्रर्याक, स्कोर बोर्ड, चेन्जिङ रुम, शौचालय लगायत संरचना निर्माण सम्पन्न भइसकेको छ ।


अहिले मुख्य चासोको रूपमा भीआईपी प्यारापिट रहेको छ । भिआईपी प्यारापिटमा छानो हाल्ने र कुर्सी बिछ्याउने काम धमाधम भइरहेको छ । दुई तीन दिनमा भिआईपी प्यारापिटमा छानो जडान सहित सबै काम पूरा भईसक्ने राखेपले जनाएको छ । भिआईपी प्यारापिटमा छानो लगाउने काम चिनिया प्राविधिकले गरेका छन् । सागका खेलहरु सुरु हुनु अघिनै सबै संरचनाको निर्माण कार्यले पूर्णता पाउने पनि राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले बताए ।