आवश्यक परे बन्दुक उठाउनुपर्छ : मोहन वैद्य

नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले आवश्यक परे फेरि हतियार उठाउन सकिने चेतावनी दिएका छन् ।

पार्टीको देशभक्त जनगणतान्त्रिक मोर्चाको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै आइतबार उनले देशले नयाँ विकल्प खोजे हतियार उठाउन सकिने बताएका हुन् ।

‘नयाँ विकल्प खोज्नुपर्छ । हामी त्यो विकल्प हौँ । सच्चा कम्युनिस्टहरू सत्ताबाहिर छन् । हामी जनवादी गणतन्त्रवादी पक्षधर कम्युनिस्ट हौँ,’ वैद्यले भने, ‘हामी मिल्यौँ भने यो व्यवस्था ढाल्न सकिन्छ । आन्दोलन कुराले मात्र हुन्न आवश्यक परे बन्दुक उठाउनुपर्छ ।’ अहिलेको सत्ता ढाल्न आवश्यक परे जनआन्दोलन, जनविद्रोह र सशस्त्र विद्रोहका लागि तयार हुनुपर्ने उनको भनाइ थियो ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले एकीकृत क्रान्तिमार्फत अमूर्त कुरा गरेको वैद्यले आरोप लगाए । ‘विप्लव नजिक हुनुहुन्छ एकीकृत क्रान्ति भनेर कता–कता जान थाल्नुभएको छ,’ उनले भने, ‘एकीकृत क्रान्तिको कुरै बुझिँदैन, बुझिनेबारे छलफल गरौँ । अस्पष्ट–अमूर्त कुरा नगरौँ, सबैले बुझ्ने गरी कुरा गर्नुपर्छ ।’ विप्लव मात्र नभई, आहूति, किराती, मोहनविक्रम सिंह, सिपी मैनालीलगायत सबै कम्युनिस्ट एक हुनुपर्ने वैद्यले बताए ।

अहिलेको सरकार कम्युनिस्टको नभएको दाबी गर्दै वैद्यले कम्युनिस्टलाई बदनाम गर्ने मात्र भएको बताए । प्रधानमन्त्री केपी ओलीको समृद्ध नेपाल सुखी नेपालीको नारा लफ्फाजी भएको उनले आरोप लगाए ।