महरालाई कारबाही ! माधव नेपालले बचाउन खोज्दापनि प्रचण्डले मानेनन्

काठमाडौं – निवर्तमान संघीय संसदका सभामुख कृष्णबहादुर महरा महिला कर्मचारीमाथि जबरजस्ती करणी गरेको अभियोगमा मुछिएपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आश्चर्य तुल्याउने निर्णय गर्यो । नेकपाले महरालाई तत्काल राजीनामा दिन निर्देशन दिने निर्णय गरेपछि उक्त निर्णयको चौतर्फी प्रशंसा र स्वागत भएको छ । कतिपयले नेकपाले महरालाई बचाउँछ भनेर गरेको आशंकाविपरित नेकपा नेतृत्वले कारबाहीको सिफारिश गर्यो ।

महरा र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको सम्बन्धलाई लिएर अहिले टिकाटिप्पणी भैरहेको छ । प्रचण्डका अत्यन्तै विश्वासिला र निकट मानिने नेता महरा यस्तो काण्डमा फस्नु प्रचण्डको लागि पनि कल्पनाभन्दा बाहिरको विषय थियो । तर, प्रचण्डले नसोचेकै भयो । महरा जबरजस्ती करणीमा मुछिएको पुष्टि भएपछि प्रचण्ड पनि महरालाई बचाउने पक्षमा उत्रिएनन् । बरु, उनी महरालाई कारबाही गर्नुपर्छ भनेर अग्रपँक्तिमा उभिएको कुरा नेकपानिकट उच्च स्रोतले जानकारी दिएको छ ।

महरालाई राजीनामा दिन निर्देशन दिने निर्णय गर्ने नेकपा सचिवालय बैठकमा महरालाई बचाउनुपर्छ भन्ने पक्षमा बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुकमार नेपाल उभिएका थिए । उनले महरालाई सभामुखबाट मात्रै राजीनामा दिन लगाउने विकल्प सुझाएका थिए । नभन्दै, त्यस्तै निर्णय नेकपाले गर्यो । तर, महरालाई सांसद पद नै नरहनेगरि कडा कारबाही गर्न नहुने माधव नेपालको प्रस्ताव नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डले ठाडै अस्विकार गरिदिए ।

ओली–प्रचण्डले महरालाई सांसदबाट पनि राजीनामा दिन लगाउने निर्णय गर्नुपर्ने अडान लिएका थिए । प्रचण्डले बैठकमा भनेको कुरा उल्लेख गर्दै एक नेताले भने,‘एउटा व्यक्तिको पछि लाग्नुहुँदैन् । गलत गर्ने र आचरणमा नबस्नेलाई कारबाही गर्नुपर्छ ।’ पछिल्लो समय राजनीतिक रुपमा पनि श्रृंखलावद्ध रुपमा हमला भैरहेकोले यो प्रकरणमा महरालाई जोगाउँदा पार्टीको छविमा झन ठूलो धक्का पर्ने महशुस गरेर अध्यक्षद्धय ओली र प्रचण्डले महराको राजनीतिक यात्रामा विश्राम लगाउने निर्णय गरेको नेकपानिकट स्रोतको दाबी छ ।

‘महरालाई कारबाही गर्दा पार्टीको हित हुने देखियो, त्यही भएर यसपटक नेतृत्वले अत्यन्तै सराहनीय निर्णय गरेको छ । यो स्वागतयोग्य छ।’–एक नेताले भने । महरालाई कारबाही गर्नुपर्छ र पदबाट राजीनामा दिलाउन ललगाउनुपर्छ भन्नेमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठपनि अग्रपँक्तिमा थिए ।