शालिन पोखरेलको शव परीक्षण रिपोर्ट: बलात्कार पुष्टि भएन, झुण्डिएका कारण मृत्यु

चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शंकास्पद रूपमा मृत फेला परेकी शालिन पोखरेलको शव परीक्षण रिपोर्ट आएको छ । त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूले आइतबार चितवन प्रहरीलाई शव परीक्षण रिपोर्ट पठाएका हुन् ।  पोस्टमार्टममा संलग्न एक जना चिकित्सकले भने, बलात्कार पुष्टि भएन ।’  १४ वर्षीया पोखरेलको कन्याजाली नच्यातिएको (हाइमेन इन्टयाक्ट) रहेको पोष्टमार्टमाबाट खुलेको छ ।

कक्षा ८ मा अध्ययनरत छात्रा शालिन फागुन १२ मा होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । उनको मृत्युको कारणबारे पोस्टमार्टम रिपोर्टमा लेखिएको छ, ‘ह्याङ्गिङ ।’

त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरू डा. गोपाल चौधरी र डा. युगेन डोल्मा वालुङसहिका ५ जना फरेन्सिक विशेषज्ञहरूले शालिनको शव परीक्षण गरेका हुन् । पीडित परिवारले उनको शरीरमा चोटपटक रहेको दाबी गर्दै आएका छन् । तर, पोस्टमार्टम रिपोर्ट अनुसार शरीरमा ठुलो चोटपटक देखिएको छैन ।

अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय चितवनका एक जना अधिकृत भन्छन्, ‘खुट्टामा कोरिएको चोटपटक देखिएको थियो, सहपाठीहरूले सो चोटपटक केही दिनअघि मेलामा जाँदा कोरिएको बताएका छन् ।

घटना अनुसन्धानका लागि प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा रत्ननगर नगरपालिका–१० बस्ने ६० वर्षीय बालहरी देवकोटा, ४० वर्षीय किरण बहादुर अधिकारी र ४८ वर्षका कमल शर्मा पौडेल छन् । उनीहरू विरुद्ध ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी श्रीराम भण्डारीले बताए ।

गोरखाको अजिरकोट गाउँपालिका–५  घर भएकी शालिन पछिल्लो समय चितवनको रत्ननगर नगरपालिका–१५ स्थित माधवपुरमा बस्थिन् । शालिन दुई वर्षदेखि सो होस्टलमा बसेर पढ्थिन् ।