त्रिभुवन विश्वविद्यालयको २०औं उपकुलपतिमा प्रा. डा. केशरजंग बराल नियुक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार त्रिभुवन विश्वविद्यालयको २०औं उपकुलपतिमा प्रा. डा. केशरजंग बराललाई नियुक्त गरेका छन् । पोखरामा रहेका बराल उपकुलपति नियुक्त भएको जानकारी पाएपछि काठमाडौं आएका छन् ।

उपकुलपति सिफारिसका लागि शिक्षामन्त्री अशोक राईको नेतृत्वमा गठित समितिले चित्रबहादुर बुढाथोकी, बराल र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो । उनीहरु तीन जनामध्ये दोस्रो नम्बरमा रहेका बराललाई त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्रीले उपकुलपति नियुक्त गरेका हुन् ।

दरखास्त आह्वान गरेर उपकुलपति छनोट गर्ने विधिमाथि नै कतिपयले प्रश्न उठाए भने कतिपयले फेरि भागवण्डाकै आधारमा नियुक्ति गरेको भनेर आलोचना गरे ।

को हुन् बराल ?
२०१४ सालमा पाल्पामा जन्मिएका बराल २०३९ सालदेखि नेपालको उच्च शिक्षामा सक्रिय रहेका छन् । उनले २०३९ सालमा विराटनगरमा रहेको महेन्द्र मोरङ क्याम्पसबाट प्राध्यापन पेसा सुरु गरेका थिए । त्यसपछि उनी २०४१ सालमा पोखराको पृथ्वीनारायण क्याम्पसमा सरुवा भएर आए ।

पृथ्वीनारायण क्याम्पसमा पढाउँदै गर्दा उनी विश्वविद्यालयको वृत्ति विकास कार्यक्रम अन्तर्गत छात्रवृत्तिमा पढ्न बाहिर जाने मौका पाए । उनी २०५० सालमा विद्यावारिधि अध्ययनका लागि भारतको दिल्ली युनिभर्सिटीमा भर्ना भए । र उनले विद्यावारिधिको अध्ययन समयमै सकाए । अर्थात् २०५४ सालमा उनले पढाई सकाए । यसैगरी २०५५ सालमा दिल्ली युनिभर्सिटीले उनलाई विद्यावावारिधी (पीएचडी) को उपाधि प्रदान गर्‍यो ।