प्रधानमन्त्रीका सल्लाहकार रिमालले रवीन्द्र मिश्रलाई दिए धम्की

विवेकशील साझाका अध्यक्ष रविन्द्र मिश्रले आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले धम्की दिएको बताउनुभएकाे छ ।

मिश्रले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै रिमालले धम्कीपूर्ण भाषा प्रयोग गरेको भन्दै आपत्ति जनाएका छन्। साथै उनले विशिष्ट व्यक्तित्वको टिप्पणीलाई नै दोहोर्याउँदा धम्कीपूर्ण भाषा प्रयोग गर्नु उपयुक्त नहुने र त्यसमा विमती जनाउनु भएको भए भइहाल्थ्यो भन्दै सुझाव दिनुभएको छ ।

शनिबार साँझ मिश्रले प्रधानमन्त्रीप्रति आक्रोशित हुँदै ट्विट गर्नुभएकाे थियाे । उहाँले लेख्नुभएकाे थियाे- ‘कस्तो समय आयो ! पूर्व प्रधानन्यायाधीशहरूले विचाराधीन मुद्दामा बोल्नु पर्ने । प्रधानमन्त्री÷राष्ट्रपतिले संविधान खुल्लमखुल्ला कुल्चिने । काण्डैकाण्ड गर्ने प्रधानमन्त्रीको भाषण सुन्न हजारौं जम्मा हुने । महाभ्रष्ट नेताले भ्रष्टाचारविरुद्ध र्‍याली आह्वान गर्दा हजारौं सरीक हुने । अब अति भो !’

सो ट्विटमा रिमालले जवाफ दिँदै भनेका छन्, ‘सीमामा बस्नुस् रवीन्द्र जी ! तपाईंको यो ट्वीट टिप्पणी गर्न पनि उपयुक्त छैन । यति चाहि भनुँ– मर्यादा नाघ्ने जोसुकै जतिसुकै सेलिब्रिटी भए पनि त्यससँग समयले जवाफ माग्ने छ ।’

त्यसको जवाफमा रवीन्द्र मिश्रले लेख्नुभएकाे छ- ‘प्रिय विष्णु रिमाल जी, देशको प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले आमरुपमा र देशका विशिष्ट व्यक्तित्वहरूले गरिरहेको टिप्पणीलाई नै दोहोर्‍याउँदा ‘सीमामा बस्नुस्’ भनेर धम्कीपूर्ण भाषा प्रयोग गर्नु उपयुक्त हुँदैन थियो। विमती जनाउनुभएको भए भइहाल्थ्यो । सानो सुझाव मात्र ।’

ट्विटर प्रयागेकर्ताहरुले पनि रिमालको जवाफ धम्कीपूर्ण भएको भनेर आलोचना गरेका छन् । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजनमा पुगेको छ ।