भारतले नेपालमा हिन्दुवादीहरुको आन्दोलनलाई साथ दिएको मुनीको खुलासा

नेपालबारे जानकार मानिने भारतीय कुटनीतिज्ञ एस डी मुनीले नेपालको आन्तरिक मामिलामा भारतले सावधानीपूर्वक र चलाखीपूर्ण तरिकाले कार्ड खेलिरहेको बताएका छन् ।

नेपालको पछिल्लो विकसित घटनाक्रमबारे भारतीय अखबार हिन्दुस्तान टाइम्समा एक लेख लेख्दै उनले नेपालमा हिन्दुवादीहरुको आन्दोलनलाई साथ दिएको उल्लेख गरेका छन् ।

साथै उनले नेपालको सन्दर्भमा भारतले तत्कालका लागि रणनीतिक उपलब्धि हासिल गरेको पनि दावी गरेका छन् । यस पटक सत्ता सञ्चालनमा अस्थिरता उत्पन्न हुँदा प्रधानमन्त्रीले पहिले झैँ भारतलाई दोषारोपण नगरेकोमा पनि आफूहरुको उपलब्धिको रुपमा एस डी मुनीले व्याख्या गरेका छन् ।

यस्तै भारतले यस क्रममा होसियारीपूर्वक र चलाखीपूर्वक रुपमा नेपालमा रणनीतिक उपलब्धि हासिल गरेको उनले दावी गरेका छन् । मुनीले आफ्नो लेखमा ओलीविरोधी शक्तिहरुले उनलाई हटाउन खोज्दा हतास भएका ओलीको सत्ता टिकाउन भारतले सहयोग गरेको पनि जिकिर गरेका छन् ।

भारतीय स्वतन्त्रता दिवसमा ओलीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गर्दा सकारात्मक रुपमा रेस्पोन्स गरेको र सेना प्रमुख, रअ प्रमुख, विदेश सचिवहरुको क्रमश नेपाल भ्रमणको प्रसंग जोड्दै ती सबै भ्रमणहरु ओलीको आन्तरिक कलहका बीच नै सम्भव भएको पनि उनले उल्लेख गरे ।

‘यी गतिविधिहरुबाट भारतले आफ्नो तात्कालिक र रणनीतिक लक्ष्य हासिल गरेको छ,’ मुनीले लेखेका छन् । यस्तै उनले ओलीको अवसरवादी र राजनीतिक रुपमा भारतविरोधी राष्ट्रवाद पनि उजागर भएको दावी गरेका छन् । साथै कम्युनिस्ट पार्टीको एकता र प्रभुत्व भत्किँदा यसको संरक्षकको रुपमा चीन लज्जित भएको पनि उनले आरोप लगाएका छन् । अन्नपूर्ण दैनिकमा खबर छ।