चिनियाँ राजदूत यान्छीले गाइन् रेशम फिरिरि…

काठमाडौं – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाली चर्चित गीत रेशम फिरिरि गाएकी छन् ।

गीतको क्लिप १ मिनेट २९ सेकेन्डको गीतको क्लिप उनले आफ्नो ट्वीटर अकाउन्टमा सेयर गरेकी छन् । ‘मेरा सहकर्मीहरू र मैले नेपाली गीत रेशम फिरिरि अभ्यास गर्यौं र अन्तमा हामी गाउन सफल भएका छौं,’ उनले ट्वीटरमा लेखेकी छन् ।

नेपालीहरुको महान चाड बडा दसैंको मुख्य दिन आफूले गाएको गीत सेयर गर्दै उनले लेखेकी छन्, ‘यसले सबैलाई शौभाग्य र खुशी ल्याओस् !’

चिनियाँ राजदूत होउ नेपालीहरुको मन जित्ने प्रयासमा अनेक क्रियाकलाप गर्दछिन् । कहिले नेपालका ऐतिहासिक पुरातात्विक क्षेत्रमा गएर फोटो सेसन गर्छिन् भने कहिले नेपाली गीतमा, नेपाली पहिरन लगाएर नाच्छिन् ।

गत वर्ष फागुनमा १०९ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चिनियाँ दूतावासले आयोजना गरेको विशेष सांस्कृतिक कार्यक्रममा राजदूत यान्छी नेपाली गीतमा नाचेकी थिइन् ।

‘चरी जस्तै उड्न पाए गगनको तलतिर’ बोलको गीतमा उनी साढे तीन मिनेटसम्म नाचेकी थिइन् । ग्रुप डान्समा उनलाई अन्य कलाकारहरुले साथ दिएका थिए ।