दसैँको शुभकामनामा प्रधानमन्त्रीद्वारा पुरानै नक्सा प्रयोग

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको भूभाग नसमेटिएको नेपालको नक्सा प्रयोग गरेका छन्। सामाजिक सञ्जालमार्फत दसैँको शुभकामना व्यक्त गर्ने क्रममा प्रधानमन्त्रीले लिम्पियाधुरा नसमेटिएको नक्सा प्रयोग गरेका हुन् ।

निशानछाप भित्रको उक्त नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानी छुटेका छन्। नेपालको भूभाग छुटेको भन्दै सरकारको प्रस्तावमा केही समयअघि मात्रै संसदले नयाँ नक्सा पारित गरेको थियो। उक्त नक्सा प्रचलनमा ल्याउन थालिएको थियो। नेपालले यी भूभाग समेटेर जारी गरेको नक्साप्रति भारतको भने असन्तुष्टि छ।

भारतीय गुप्तचर संस्था रअका प्रमुखसँग भेट भएको पर्सिपल्ट आएको प्रधानमन्त्रीको शुभकामना सन्देशमा पुरानै नक्सा प्रयोग हुनुलाई अनेक कोणबाट विश्लेषण गर्न थालिएको छ।

शुक्रबार बिहान ९:२३ मा प्रधानमन्त्रीको निजी ट्विटर खाताबाट शुभकामना जारी भएको थियो। उनले अंग्रेजी भाषामा पनि शुभकामना दिएका छन्। उक्त सन्देशको नक्सामा त्रुटि रहेको धेरैले औंल्याएको भए पनि सच्याइएको छैन। यसले थप सन्देह पैदा गरेको छ।