बाबुराम भन्छन्, ‘यस्तो सरकार किन चाहियो ?’

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा.बाबुराम भट्टराईले ओली सरकारलाई हटाऔं ह्यासट्याग सुरू गरेका छन्।

भट्टराईले कोरोना संक्रमित बिरामी र जनताको दु:खमा साथ् नदिने सरकार नचाहिने बताएका छन् । उनले जनताको उपचारबाट पन्छिने सरकारी निर्णयको कडा आलोचना गर्दै सोमबार बिहान एक ट्वीट सन्देश जारी गर्दै प्रश्न गरेका छन्, ‘यस्तो सरकार किन चाहियो ?’

ओली सरकारलाई हटाऔं भन्ने ह्यासट्याग प्रयोग गर्दै उनले लेखेका छन्, ‘कोरोना उपचार खर्च आफैं व्यहोर ! बेहोस भए मात्रै अस्पताल जाऊ ! बेरोजगार श्रमिक रूँदै गाऊँ फर्क ! भारतबाट फर्केका श्रमिक भोकै परेपछि दशैंको मुखमा भारततिरै फर्क ! महिनौंदेखि स्कूल-कलेज बन्द भएर अलपत्र परेका विद्यार्थी जेसुकै गर ! आसेपासेहरू कमिसन/भत्ता डकार ! यस्तो सरकार किन चाहियो ?’

सरकारले कोरोना महामारीको उपचार व्यक्ति आफैंले गर्नुपर्ने निर्णय गरेपछि भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।

सरकारले अब विपन्न, अशक्तलगायतको मात्र परीक्षण र उपचार खर्च बेहोर्नेछ । असोज १९ गतेको मन्त्रीपरिषद्को निर्णय आइतबार सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना सुरु भएको छ । संविधानको मौलिक हक र सर्वोच्च अदालतको परमादेशविपरीत सरकारले यस्तो निर्णय गरेको हो ।