कर्णालीका मुख्यमन्त्री हटाउने प्रयास विफल भयो

काठमाडौं, २७ असोज – कर्णाली प्रदेशका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध आफ्नै पार्टीका सांसदहरुले ल्याएको अविश्वासको प्रस्ताव तुहिएको छ ।

अन्ततः शाहीको पक्षमा २० जना सांसद उभिएका छन् । यसअघि शाहीलाई हटाउनुपर्छ भनेर अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका माधव नेपाल समूहका ८ जना सांसद शाहीको पक्षमा उभिएका छन् भने पूर्व माओवादी समूहबाट १२ जना शाहीको पक्षमा उभिएसँगै शाहीविरुद्धको अविश्वासको प्रस्ताव तुहिएको छ ।

कर्णालीको पार्टीको विवाद मिलाउनको लागि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल सक्रिय भएका थिए । दाहालले वरिष्ठ नेता माधव कुमार नेपालसँग मिलेर कर्णालीको विवाद हल गरेका हुन् । शाहीविरुद्धको अविश्वासको प्रस्ताव ल्याएपछि दाहालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगपनि भेटवार्ता गरेका थिए ।