मुख्यमन्त्री शाहीद्वारा आफ्नो सुरक्षाका लागि खटाइएका सुरक्षाकर्मी फिर्ता

कर्णाली – कर्णाली मुख्यमन्त्री महेन्द्र बहादुर शाही द्वारा सुरक्षाकर्मी फिर्ता, क्वारेन्टाइनको सुरक्षामा सहयोग पुग्ने अपेक्षा

प्रदेशका मुख्यमन्त्री शाहीले सुरक्षाका लागि खटाइएका सुरक्षाकर्मी फिर्ता गरेका छन् ।

शनिवार मुख्यमन्त्री शाहीले उनको सुरक्षामा खटिएका स्कटिङ गर्ने गाडीसहित सुरक्षामा खटिएका ८ जना प्रहरीहरु फिर्ता पठाएको उनले जानकारी दिए । कोरोना महामारी रोकथामका लागि सहयोग होस् भनेर सुरक्षामा खटिएका प्रहरी फिर्ता गरेको मुख्यमन्त्री शाहीको भनाइ छ ।

‘बाहिर सुरक्षाकर्मीको अभाव छ । क्वारेन्टाइनस्थलमा दुईजना प्रहरीले सुरक्षा दिइरहेका छन् । त्यसैले केही सजिलो होला भनेर फिर्ता गरेको हुँ,’ उनले भने, ‘कम्तिमा क्वारेन्टाइनको सुरक्षा गर्न सकेको खण्डमा कोरोना धेरै नफैलिने अपेक्षाका साथ मैले फिर्ता गरेको हुँ । मेरो भन्दा क्वारेन्टाइनको सुरक्षा गर्न मैले बढी आवश्यकता देखेका कारण सुरक्षाकर्मी फिर्ता गरेको हो ।’

मुख्यमन्त्रीको सुरक्षामा एक सई, असई, हवल्दार र चारजना सिपाही गरी ७ जना प्रहरी र एकजना ड्राइभर खटिएका थिए । मुख्यमन्त्रीले फिर्ता गरेका प्रहरीले शनिवारदेखि नै जिल्ला प्रहरी कार्यालयमा डियुटी शुरू गरिसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।