आँटिली रेनु दाहाललाई प्रचण्डको साथ : महानगरमा छायो विकासको लहर

काठमाडौँ – भरतपुर महानगरमा गौरवको आयोजना यस वर्षका लागि ९ वटा थप भएका छन् । अघिल्ला वर्षदेखि नै १४ आयोजना निरन्तर छन् । केही काम ६ महिनाभित्रै सकिँदै छन्, केही वर्ष दिनमा सकिनेछन् र केही योजना बहुवर्षे छन् ।

भरतपुर महानगरमा ठूला पूर्वाधार आयोजनाका काम भइरहेका छन् । महानगरभित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सेवा–सुविधा प्रदान गर्न सक्ने गरी तयार गरिएका योजनाका कामलाई बिग प्रोजेक्टको रुपमा हेरिएको छ ।

अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर काम अगाडि बढाएको नगरप्रमुख रेनु दाहालले जानकारी दिइन् । पूर्वाधार, सामाजिक, आर्थिक विकासका पक्षलाई बढी जोड दिइएको बताउँदै नगरप्रमुख रेनुले देशकै नमुना महानगर बनाउन स्वदेशी र विदेशी संघसंस्थासँगको सम्बन्ध एवं सहयोगलाई विशेष प्राथमिकता दिइएको बताइन् ।

महानगर क्षेत्रमै पर्ने चितवन क्षेत्र–३ का सांसदसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको साथले पनि महानगरभित्रका ठूला आयोजनाले गति लिएका छन् । आर्थिक सहयोग जुटाउनका लागि अन्य राष्ट्रियरअन्तर्राष्ट्रिय संघसंस्थाको ठूलो हात रहेको छ ।

देशको मध्य भागमा रहेको भरतपुर महानगरमा विकासका लागि सहयोग गर्न स्वदेशी एवं विदेशी लगानीकर्ताको चासो पनि बढ्दै गएको छ ।

काम गर्नका लागि स्वदेशी तथा विदेशी संघ–संस्थाहरूको चासोसँगै सहयोगसमेत भइरहेको बताउँदै नगरप्रमुख दाहालले पछिल्लो समय चितवनमा ठूलो प्लान्टमा अर्गानिक कृषि प्रविधि ल्याउन, महाविद्यालय, प्राविधिक शिक्षालय बनाउन र अरु विकास निर्माणका लागि पनि काम सुरु हुन लागेको जानकारी दिइन् ।

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

महानगरभित्र अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनिरहेको छ । महानगरभित्रै पर्ने कृषि तथा वन विज्ञान विश्वविद्यालय रहेको रामपुरमा धुर्मुस–सुन्तली फाउन्डेसनसँगको सहकार्यमा निर्माण भइरहेको छ । ३० बिघा क्षेत्रफलमा बन्दै गरेको रंगशालामा लगभग ३ अर्ब रुपैयाँ लगानी हुने र एसियाकै नमुना बनाउने महानगरको लक्ष्य छ ।

क्रिकेट रंगशाला अबको १८ महिनाभित्र सक्ने धुर्मुस–सुन्तली फाउन्डेसनले नै जानकारी दिएको छ । अहिले प्याराफिटका लागि पिलर उठाउने काम भइरहेको छ ।

महानगरीय सिटी हल निर्माण

महानगरीय सिटीहल निर्माणको कामका सन्दर्भमा एक सातामा सम्झौता हुने भएको छ । सहरी विकास तथा भवन निर्माण विभागको सहयोगमा सभागृह निर्माणका लागि जिल्ला समन्वय समितिको परिसरमा रहेको ४ बिघा ४ कठ्ठा जग्गामा भरतपुर महानगरको सिटी हल बन्नेछ ।

ठेकदार छनोट भइसकेको र ७७ करोड ७८ लाख रुपैयाँमा सम्झौता हुँदै छ । १ महिनामा शिलान्यास गर्ने तयारी महानगरको छ ।

भरतपुर मेट्रो प्लाजा निर्माण

नारायणगढ बजारको ल्यान्सचोकमा बहुउद्देश्यीय व्यावसायिक भवन बनाउने कामको प्रक्रिया पनि महानगरले अगाडि बढाएको छ । सार्वजनिक÷ निजी साझेदारी मोडलमा निर्माण हुने भवन बनाउन प्राप्त भएका धेरै प्रस्तावमध्येबाट ३ वटा प्रस्ताव छनोट गरिएको महानगरले बताएको छ ।

केही समय अगाडिसम्म फलफूल तथा तरकारी बजार रहेको क्षेत्रमा १ अर्ब ५० करोड रुपैयाँ बराबर प्रस्ताव आएको छ । विस्तृत अध्ययन गरी नक्सांकनको काम सकिएको बताउँदै उनले व्यस्त बजार नजिकै आधुनिक शैलीमा बहुउद्देश्यीय व्यावसायिक भवन निर्माण भएपछि नारायणगढ बजार थप व्यवस्थित हुने दाबी गरे ।

रिङरोड र लिंकरोड

महानगरले आप्mनो क्षेत्रभित्र रहेका सडकको स्तरोन्नति, कालोपत्रे र सडक विस्तारको काम अन्तिम चरणमा पुगेको छ । महानगरको योजनामा परेका सघन सहकारी विकास कार्यक्रमअन्तर्गत १३ वटा सडक कालोपत्रे भएका छन् ।

महानगरभित्र रिङरोड र लिंकरोड निर्माणका लागि मात्र सहरी विकास तथा भवन निर्माण विभागले भरतपुर महानगरमा १ अर्ब ५० करोड खर्च लगानी भएको छ । महानगरभित्रको ८० किलोमिटर सडक कालोपत्रे यही योजनाअन्तर्गत सम्पन्न भएको छ ।

बसपार्क

सहरी विकास तथा भवन निर्माण विभागको सहयोगमा भरतपुरस्थित केन्द्रीय बसपार्क र नारायणगढमा रहेको बसपार्कलाई मर्मत गरी थप व्यवस्थापनको काम भइरहेको छ । कुनै समय दक्षिण एसियाकै नमुना बसपार्क भनिएको केन्द्रीय बसपार्कको व्यवस्थापनदेखि थप भौतिक पूर्वाधार विकास गरी नमुना बसपार्क बनाउने गरी काम भइरहेको छ । भरतपुर बसपार्कको काम ९८ प्रतिशत काम सकिएको छ ।

आधुनिक शैलीका पार्क

महानगरपालिकाले नगर वनलाई गौरवको आयोजनाको रुपमा विकास गर्ने तयारी गरेको छ । नगरवन, रानीपोखरी, लक्ष्मीनारायणमा मन्दिर पार्क निर्माणका लागि लगभग १४ करोड रुपैयाँ खर्च गर्ने गरी काम अगाडि बढाएको छ ।

महानगरमा रहेका ३ वटा पार्क पर्यटकको आकर्षण केन्द्र बन्ने अपेक्षा गरिएको छ । पार्क निर्माणका लागि बोलपत्र आह्वान भइसकेको बताउँदै नगरप्रमुख दाहालले स्वदेशी एवं विदेशी पर्यटकका लागि आकर्षक गन्तव्यको रुपमा विकास गर्ने योजना रहेको जानकारी दिइन् ।

नारायणी नदी किनारमा रहेको नगर वनलाई गौरवको आयोजनाको रुपमा विकास गरी विदेशी पर्यटकलाई समेत आकर्षण हुने गरी पर्यटकीय क्षेत्र बनाइने उनको भनाइ छ । विभिन्न क्षेत्रबाट सहयोगको प्रस्ताव आइरहेकाले यसलाई विभिन्न सरोकार राख्ने निकायहरूसँग समन्वय गरेर काम सुरु गर्ने उनले जानकारी दिइन् ।

अस्पताल विकास

जिल्लामा रहेका दुई अस्पताललाई ठूला आयोजनाको रुपमा लिएर काम अगाडि बढाइएको छ । भरतपुर अस्पताल केन्द्रीय अस्पताल भएको छ । भरतपुर अस्पतालमा ६ करोड रुपैयाँ लगानी गरी बिरामी कुरुवा घर निर्माण भएको छ ।

रविना–जोशी–फूलजोर जेभीसँग सम्झौता सुरु भएकामा ८५ प्रतिशत काम सकिएको छ । कुरुवा घरमा ५० वटा बेड रहेका छन् । कुरुवा घरभित्र रेस्टुरेन्ट, पार्किङलगायतको व्यवस्था हुनेछ । महानगरले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानको रुपमा विकास गर्न गृहकार्य अघि बढाएको छ । क्यान्सर रोगसँग सम्बन्धित विषय अध्ययन अनुसन्धानका लागि प्रतिष्ठानकै रुपमा अस्पतालको विकास गर्ने लक्ष्य राखिएको नगरप्रमुख दाहालले बताइन् ।

विद्युतीय शवदाहगृह निर्माण

देवघाटमा १० करोड रुपैयाँको लगानीमा शवदाहगृह बनाउने काम भइरहेको छ । यसको ठेक्का सम्झौता भइसकेको छ । सरकारको लगानीमा देवघाटमा बन्ने शवदाहगृह नेपालकै पहिलो हुनेछ । शवदाहगृह निर्माणका लागि मिलिनियम–सिद्धगढी जेभी काठमाडौंसँग सम्झौता भएको नगरप्रमुख दाहालले जानकारी दिइन् । १० करोड रुपैयाँको लगानीमा केही समयमै शवदाहगृह निर्माण सक्ने लक्ष्य छ ।

स्मार्ट स्ट्रिट लाइट

भरतपुर महानगरमा रहेका मुख्य बजार क्षेत्र र ८० किलोमिटर सडक खण्डको विद्युतीय तारलाई भूमिगत गर्ने योजना अगाडि बढाइएको नगरप्रमुख दाहालले बताइन् । ठेक्का सम्झौता हुने तयारीमा रहेको यस आयोजनामा १८ करोड रुपैयाँ खर्च हुनेछ ।

यस्तै, भरतपुर एयरपोर्ट स्तरोन्नति, सहयोगापेक्षी सडकमुक्त महानगर, नारायणी नदी किनारामा पर्यटन स्तम्भलगायतका आयोजना पनि महानगरले अगाडि बढाएको छ ।

  • साभार लालटिन खबर