नारायणी नदीमा एक अर्बको लागतमा सिग्नेचर पुल बन्ने

नारायणी नदीको भरतपुर र गैँडाकोट जोड्ने बहुचर्चित सिग्नेचर पुललाई सरकारले पहिलो प्राथमिकतामा राखेको छ ।

सडक विभागअन्तर्गतको पुल महाशाखाको टोलीले नारायणीलाई उपयुक्त १० स्थानमध्ये पहिलो प्राथमिकतामा राखेको हो । जसमा महाशाखाले नारायणी नदी (चितवन), विजयपुर खोला (कास्की), रतुवा खोला (दमक), गछियाखोला (मोरङ), तमोर नदि (धरान-धनकुटा सडक), बागमती खोला (शंखमुल, काठमाडौं), तिनाउ नदी (बुटवल), रोहिणी नदी (भैरहवा), बकैया (मकवानपुर) र बागमती खोला (सर्लाही-रौतहट) लगायतका स्थान मुख्य छन् ।

‘पुल निर्माण हुने स्थान पहिचान गर्नु पनि महत्वपूर्ण कुरा हो। अब डिजाइनको काम सुरु हुन्छ,’ पुल महाशाखा प्रमुख दीपक भट्टराईले भने, ’चिनियाँ, इण्डियन र स्विजरल्याण्डका विज्ञ झिकाएर डिजाइन गर्दैछौ।’ चालु आर्थिक वर्षभित्र चारवटा पुलको डिजाइन तयार पार्ने महाशाखाको योजना रहेको उनले बताए ।

चितवनको नारायणी नदीलाई पहिलो प्राथमिकतामा राखिएको छ । योजना अनुसार काम भए आगामी वर्ष चितवनको नारायणी नदिमाथि नेपालकै पहिलो सिग्नेचर ब्रिज तयार हुनेछ। जसको लम्बाइ करिब ५०० मिटर हुनेछ। डेडिकेटेड डबल लेनमा निर्माण हुने पुलका लागि झण्डै एक अर्ब लाग्ने अनुमान छ।

महाशाखाका अनुसार यो सामान्य पुलभन्दा फरक खालको हुन्छ। नयाँ प्रविधि प्रयोग गरेर निर्माण गरिने यो पुल कलात्मक हिसाबले निर्माण गरिने महाशाखा प्रमुख भट्टराइले बताए। ‘जसरी मानिसलाई उसको सिग्नेचरले चिनिन्छ। त्यसैगरी सिग्नेचर पुलले पनि ती स्थानलाई चिनाउनेछ,’ उनले भने।

युरोपका धेरै सहरहरूमा यस्ता प्रकृतिका पुलहरू निर्माण भएका छन् । आकर्षक हुने भएकाले यसले पर्यटकीय महत्वसमेत राख्दछ । झट्ट हेर्दा ‘नेटवर्क आर्क ब्रिज’ जस्तै डिजाइनमा बनेको देखिने भएपनि यी फरक खालका हुन्छन्। पुललाई आकर्षक देखाउन प्रयोग गरिएका डण्डीहरुमा समेत कलात्मक डिजाइन दिइने छ।

पुलमा आकर्षक लाइटहरू समेत जडान गरिन्छ। जसले रातमा समेत आकर्षक देखिन्छ भने सामान्य पुलमा राखिने भन्दा दोब्बर फराकिलो फुटपाथ हुन्छ । जसमा मानिसहरू बस्न र घुमघाम गर्न सकिन्छ ।