डोटीमा एकैदिन २ सय १३ जनाको परीक्षण, सबैको नतिजा नेगेटिभ

डोटी — शुक्रबार डोटीमा र्‍यापिड टेस्ट किटमार्फत गरिएको परीक्षणमा कोभिड-१९ को नतिजा नेगेटिभ देखिएको छ।

डोटीका ५ स्थानमा नमुनाका रुपमा २ सय १३ जनाको परीक्षण गरिएको थियो। ‘सबैको नतिजा नेगेटिभ आएको छ,’ स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले भने, ‘यो खुसीको खबर हो।’

र्‍यापिड टेस्ट क्वारेन्टाइनमा बसेका बाहेकका व्यक्तिहरुको लिइएको उनले जानकारी दिए। बोगटान गाउँपालिकामा एक सय, आदर्श गाउँपालिकामा २५, सायल गाउँपालिकामा २५, बडीकेदारको बीपीनगरमा २२ र खड्यौलीमा ४१ जनाको परीक्षण गरिएको थियो। यसअघि क्वारेन्टाइनमा बसेका ३ सय ३० जनाको थ्रोट स्वाब संकलन गरी काठमाण्डौं लगिएको छ। सो परीक्षणको रिपोर्ट अझै आइनसकेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए।

डोटी अस्पतालमा कोरोनाको लक्षण देखापरेको आशंकामा ३ जनालाई आइसोलेसनमा भर्ना गरिएको छ। ६ जना भर्ना भएकामध्ये ३ जनाको स्वाब परीक्षणपछि नेगेटिभ नतिजा आएपछि घर फर्काइएका छन् भने बाकी ३ जनाको नतिजा आइसकेको छैन। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय प्रमुख मलासीले जानकारी दिए। आइसोलेसनमा भर्ना भएकामध्यै सबै जना भारतबाट आएका युवाहरु छन्।

फागुनयता मात्रै भारतबाट करिब ४ हजार जना भित्रिएपछि ग्रामीण क्षेत्रमा संत्रास फैलिएको थियो।