संकटका बेलामा भ्रष्टाचार गर्नेलाई कारवाही गर्ने विप्लवको चेतावनी

काठमाडौँ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कोरोना भाइरसको संकटका बेलामा भ्रष्टाचार गर्नेलाई कारवाही चेतावनी दिएको छ।

महासचिव विप्लवले कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण नेपालमा रोकेर जनतालाई आश्‍स्त बनाउन केपी वली सरकार असफल भएको पनि ठहर गरेका छन्। यसको प्रकोप रोक्न आफ्नो पार्टी सबैसँग सहकार्य गर्न तयार रहेको पनि उनले बताएका छन्। शनिबार प्रेस वक्तव्य जारी गर्दै विप्लवले कोरोना महामारीबाट जनतालाई जोगाउन सरकारलाई १६ बुँदे सुझाव दिएका छन्। उनले पार्टीले गर्ने ६ कार्यसूची पनि प्रस्तुत गरेका छन्। कोरोना सङ्क्रमणले जनता आकुलव्याकुल भएको समयमा पनि सरकारबाट भएको भ्रष्टाचारको भण्डाफोर जारी राखिने उनले बताएका छन्।

महासचिव विप्लवले आउने सम्भावित असहज परिस्थितिको सामनाका लागि सचेत रहन पनि पार्टीपंक्तिलाई सचेत गराएका छन्। ‘चीनको वुहान सहरबाट देखापरेको कोरोना भाइरस अहिले विश्वलाई नै प्रभावित पार्ने गरी फैलिरहेको छ । यसले हजारौँको ज्यान लिइसकेको छ, लाखौँमा सङ्क्रमित भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘अर्बौं मानिसलाई भयभीत बनाएको छ । यो भाइरसको प्रभावलाई मानिसहरूले दोस्रो विश्‍वयुद्धपछिको संकट भन्‍न थालेका छन्। यसले विश्व-अर्थव्यवस्थामा गम्भीर प्रभाव पार्ने आँकलन गरिएको छ।’

कोरोना सङ्क्रमण फैलिँदा पनि सरकारीस्तरबाट पहल नलिइएको बताउँदै विप्लवले सरकारमा सामेल मान्छेहरू उल्टै भ्रष्टाचारमा रमाएको जिकिर गरेका छन्। ‘यो रोग देखिएपछि विश्वका तमाम देशसहित नेपालमा पनि रोकथामका लागि पहल गर्न सकिने सम्भावना थियो। तर पुँजीवादी व्यवस्था भएका देशको चरम लापरबाही, जनअनुत्तरदायी, अहंकारी, मुनाफावादी प्रवृत्तिका कारण त्यहाँका जनताले ठूलो क्षति बेहोर्नु परेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपालको सामाजिक दलाल पुँजीवादी सरकारको चरम लापरबाही, कमिसनखोरी, दलाली प्रवृत्तिका कारण पर्याप्त पहलकदमी लिन सकेन। जसले लाखौँ नेपाली नागरिकहरु विविध समस्यामा परेका छन्।’

कोरोना सङ्क्रमणसँगै आवश्यक उपकरण खरिदप्रक्रिया समयमा नगरी भ्रष्टाचार गर्न खोजिएको जिकिर विप्लवले गरेका छन्। ‘विदेशमा रहेका नागरिकलाई हवाईजहाजबाट स्वदेश ल्याउँदा टिकटबाट आउने रकममा समेत कमिसनखोरी गरियो’, उनले भनेका छन्, ‘कोरोनाको आशङ्कामा निजी क्षेत्रबाट चलेका अस्पतालहरूले बिरामीको उपचार गर्न अस्वीकार गरे। केहीको ज्यानसमेत गएकाले सरकारको सूचनाप्रणालीमा विश्वसनीयता देखिएन।’ विप्लवले कोरोनाको निहुँमा सम्पूर्ण क्षेत्रमा कालोबजारी, भ्रष्टाचार, अनियमितता बढाइएको बताएका छन्। उनले बाहिर भ्रष्टाचार नगर्ने र गर्न नदिने नारा दिए पनि भित्र स्वयम् सरकार भ्रष्टाचारमा लिप्त रहेको उल्लेख गरेका छन्।

विप्लव विज्ञप्ति कोरोना भाइरस

विप्लव विज्ञप्ति कोरोना भाइरस