लकडाउनका बेला चिटिक्क बनाइँदै काठमाडौंका सडक

काठमाडौं – लकडाउनका बेला काठमाडौंका सडक चिटिक्क बनाइँदै छन्। घमाइलो मौसम, सडक खाली र थोरै कामदारले पुग्ने भएकाले सरकारले शनिबार सडक रंगरोगनको काम सुरु गरेको हो।

‘दुई-चार जना कामदार भए पुग्ने, बाँकी काम मेसिनले गर्ने’, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त कुमार नेम्वाङ भन्छन्, ‘लकडाउनका बेला रंगरोगनको कामै सहज र उपयुक्त लाग्यो।’ कामदारको सुरक्षामा पर्याप्त ध्यान दिइएको उनी बताउँछन्। उनका अनुसार राष्ट्रपति भवनदेखि पुतलीसडक, थापाथली, माइतीघरलगायत स्थानका सडक रंगरोगन, मार्किङ र मर्मतको काम भइरहेको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त कुमार नेम्वाङ
नेम्बाङ मन्त्री बनेयता उपत्यकामा झन्डै ४० किलोमिटर सडक ओभर पिच, नयाँ पिच र मर्मतको काम सम्पन्न भएको छ। बाँकी सडक मर्मत र पिचको काम धमाधम अघि बढिरहेका बेला कोरोना भाइरसका कारण मुलुक नै लकडाउनमा परेको हो। चाबहिल-गौशाला सडक पिच र चक्रपथको चाबहिल-कलंकी भागको काम अघि बढाउने तयारी कोरोना संक्रमण र लकडाउनका कारण प्रभावित बनेको उनी बताउँछन्।

सबैभन्दा धेरै धुलो भएको र भत्किएको चाबहिल-गौशाला सडकमा खानेपानीका पाइप मर्मत गरी पिचको काम अघि बढाउन खोज्दा लकडाउन भएको थियो। अन्य दिनमा रातारात पिच र मर्मतको काम गरिए पनि मजदुरको सुरक्षा र निर्माण सामग्रीका कारण त्यस्तो अवस्था नरहेको उनको भनाइ छ। लकडाउन खुलेपछि बढीमा तीन सातामा चाबहिल-गौशाला सडक पिच हुने र चक्रपथको दोस्रो चरणको काम पनि सुरु गर्ने तयारी छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त कुमार नेम्वाङ
‘काठमाडौंमा त लगभग सडकको काममा निकै प्रगति भइसकेको छ’, उनी भन्छन्, ‘फागुनदेखि वैशाखसम्म देशभर नै धमाधम पिचको काम अघि बढाउने मौसम हो। तर, कोरोनाका कारण यो वर्ष सोचेजस्तो काम नहोला कि भन्ने चिन्ता छ।’

उनलाई अर्को पनि पिरलो रहेछ, पुल ढलान र निर्माण। जेठ- असारमा पानी पर्न सुरु हुन्छ। ‘त्यस बेला पुल ढलानको काम गर्न पाइँदैन’, उनी भन्छन्, ‘पुलको काम गर्न नपाए ५-६ महिना अरू कुर्नुपर्ने हुन्छ।’
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त कुमार नेम्वाङ
सडक मर्मत र निर्माणको कामसँगै रात-दिन काम गर्ने कामदार र मजदुरको सुरक्षा पनि चुनौतीको विषय बनेको मन्त्रालयका अधिकारी बताउँछन्। सडक निर्माण र मर्मतमा संलग्न झन्डै ५० हजार मजदुर लकडाउनका कारण घर फर्किन चाहेको मन्त्रालयले जनाएको छ। यस विषयमा सम्बन्धित निर्माण व्यवसायीसँग निरन्तर छलफल र सहकार्य गरिरहेको मन्त्री नेम्बाङ सुनाउँछन्।

उनले यस विषयमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग छलफल गरेका छन्। सडक मर्मत र निर्माणमा २ हजारजति भारतीय कामदार पनि संलग्न रहेको र उनीहरूलाई सुरक्षित तवरले घरसम्म पुर्‍याउन गृहकार्य भइरहेको मन्त्रालयले जनाएको छ।