कोरोना महामारी : विश्वभर ५८ हजारले ज्यान गुमाइसके

अमेरिका – विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट अमेरिकामा मर्नेको संख्या ७ हजार नाघेको छ। शनिबार बिहानसम्मको तथ्यांकअनुसार अमेरिकामा ७ हजार १५२ ले ज्यान गुमाइसकेका छन्।

कोरोनाको नयाँ इपिसेन्टर बनेको अमेरिकामा एकै दिन ३४ हजार ५०० नयाँ संक्रमित थपिएका छन्। यससँगै हालसम्म २ लाख ७७ हजार ९५३ संक्रमित भइसकेका छन्। यसैगरी इटालीमा मर्नेको संख्या उच्च रहेको छ। इटालीमा हालसम्म १४ हजार ६८१ ले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन्। यस्तै १ लाख १९ हजार ८२७ मा संक्रमण पुष्टि भइसकेको छ।

संक्रमित संख्याका आधारमा तेस्रो स्थानमा रहेको स्पेनमा ११ हजार १९८ को मृत्यु भएको छ। त्यहाँ १ लाख १९ हजार १९९ मा संक्रमण पुष्टि भइसकेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकमा रहेको छ।

कोरोनाको सुरुवात भएको चीनमा गत २४ घण्टाभित्र थप ४ जनाले ज्यान गुमाएको चिनियाँ सञ्चार माध्यम सीजीटीएनले जनाएको छ। शुक्रबार मध्यरातसम्मको तथ्यांकअनुसार चीनमा थप १९ जनामा संक्रमण पुष्टि भएको छ।

गत डिसेम्बर ३१ बाट फैलिन सुरु भएको कोरोना भाइरसका कारण विश्वभर ५८ हजार ९०१ ले ज्यान गुमाइसकेका छन्। यस्तै करिब ११ लाख संक्रमित भइसकेका छन्। तीमध्ये २ लाख २६ हजार ६०३ निको भइसकेका छन्।